‘जनयुद्ध हिंसा नै हो’ भनेका थापाको एमाले नेता बस्नेतले गरे प्रशंसा



काठमाडौं । नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले ‘माओवादी जनयुद्ध हिंसा नै हो’ भनेपछि एमालेजनहरूले उनको प्रशंसा गरेका छन् । बिहीबार अछाम पुगेका पूर्वमाओवादी नेता समेत रहेका बादल ‘माओवादी जनयुद्ध हिंसा नै हो’ भन्ने अभिव्यक्ति दिएका थिए ।

सो अभिव्यक्तिको नेकपा एमालेका नेता महेश बस्नेतले प्रशंसा गरेका हुन् । एमालेजनहरूले भने उनको प्रशंसा गरे पनि माओवादी नेता, कार्यकर्ता र समर्थकहरूले उनको तीव्र आलोचना गरिरहेका छन् ।

बादलको प्रशंसा गर्दै बस्नेतले लेखेका छन्, ‘एमाले उपाध्यक्ष रामबहादुर थापाले अछाम पुगेर माओवादी जनयुद्ध हिंसा नै हो भन्नुभएछ। जुनसुकै उद्देश्यले गरिएको होस्, जुनसुकै परिवर्तन र क्रान्तिलाई त्यसले सपोर्ट गरेको होस्, जनयुद्ध भन्ने हिंसा नै हो।’

उनले थपेका छन्, ‘तसर्थ, हाम्रो अध्यक्ष केपी शर्मा ओलीज्यूले भन्नुभएको हिंसा शब्दमा हाम्रो सहमति छ।’

उनले जनयुद्ध दिवस मनाउने र बिदा दिने प्रचलन संसारमा कहीँ नभएको बताएका छन्। ‘त्यो हामीले पनि गर्नु हुँदैन। रामबहादुर थापाज्यूको सच्चाइप्रतिको यो बुझाइलाई हार्दिक अभिवादन।’ उसो त माओवादी जनयुद्धमा सहभागी मध्येका बादल पनि एक हुन् ।

प्रकाशित मिति: २५ माघ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्