बन्धक फिर्ता नगरे भीषण हमला गर्ने इजरायलको चेतावनी



काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई शनिबार मध्यान्हसम्ममा आफ्ना बन्धकहरू फिर्ता नगरे भीषण हमला सुरु गर्ने चेतावनी दिएको छ ।

हमासले थप बन्धकहरूको रिहाइ स्थगित गर्ने घोषणा गरेपछि इजरायली सेना गाजाभित्र र वरपर व्यापक रूपमा परिचालन गर्न आदेश उनले दिइसकेका छन् ।

नेतान्याहूको बयानपछि, हमासले आफू युद्धविराम सम्झौताप्रति प्रतिबद्ध रहेको बताउँदै इजरायल नै ‘कुनैपनि जटिलता वा ढिलाइको जिम्मेवार’ रहेको बताएको छ ।

हमासले तीन सातादेखिको युद्धविराम सम्झौता उल्लङ्घन गरिरहेको आरोप लगाउँदै आएको छ । इजरायलले भने यो आरोप अस्वीकार गरेको छ ।

यसैबीच, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई युद्ध विराम सम्झौता पूर्ण रूपमा रद्द गर्न र सम्पूर्ण बन्धकहरू शनिबारसम्म फिर्ता नभए गाजालाई नर्क बनाइदिन सुझाव दिएका छन् ।

प्रकाशित मिति: ३० माघ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्