मेयरले प्रहरीकै अगाडि हाकिमलाई गोली हान्ने धम्की दिएको आरोप



जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले प्रहरीकै अगाडि प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार साहलाई गोली हान्ने धम्की दिएको आरोप लागेको छ ।

अधिकृत साहले मङ्गलवार जिल्ला प्रशासन कार्यालय धनुषामा मेयर र उनका छोरा रामभजन दासविरुद्ध उजुरी दिएका हुन् । शिक्षा सेवा आयोगबाट सिफारिस भई नियुक्त भएकी निमावि शिक्षिका पवन कुमारीलाई हाजिर गराएपछि मेयर दासका छोरा रामभजन दासले साहमाथि कार्यकक्षमै प्रवेश गरी गाली–गलौज गर्दै कुटपिट गरेका थिए ।

यसपछि पनि आफूलाई मेयर दासले गोली हान्ने धम्की दिएको प्रशासकीय अधिकृत साहले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

शिक्षिकालाई सोमबार हाजिर गराउँदा मेयरका छोरा रामभजनले कार्यकक्षमै गाली–गलौज गरी कुटपिट गरेपछि प्रमुख प्रशासकीय अधिकृत साहले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए । यसपछि उनलाई मंगलबार मेयर दासले कार्यकक्षमा बोलाएर अपशब्द प्रयोग गर्दै गोली हान्ने धम्की दिएका हुन् ।

घटनापछि प्रहरी जवान विकास बस्नेत र विकासकुमार राय तथा वडा नम्बर ७ का अध्यक्ष राजकिशोर सिंह घटनास्थलमा पुगेका थिए । तर प्रहरी र स्थानीय जनप्रतिनिधिहरूको उपस्थितिमै मेयर दासले साहलाई गोली हान्ने धम्की दिएको बताइएको छ ।

उनले आफ्नो सुरक्षाको व्यवस्था मिलाउन र नयाँ कार्यस्थलको व्यवस्था नभएसम्म पूर्ण सुरक्षा प्रदान गर्न सम्बन्धित निकायसमक्ष अनुरोध गरे ।

प्रकाशित मिति: ३० माघ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्