मझगाउँ विमानस्थलको निर्माण तत्काल अगाडि बढाउने सहमति



काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलको अवरुद्ध निर्माण कार्य तत्काल अघि बढ्ने सहमति भएको छ ।

गृहमन्त्री रमेश लेखकको पहलमा गृहमन्त्रालयमा भएको सम्वद्ध निकायका मन्त्री, सचिव र प्रधानसेनापतिसहितको उच्च स्तरीय बैठकबाट मझगाउँ विमानस्थलको विषय सुल्झिएको हो।

बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा विमानस्थल निर्माणका लागि उपयोग गर्ने दिन,सेनाको फुटबल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाइने विषयमा सहमतिपछि लामो समयदेखि असहमति देखिएको विमानस्थल निर्माणको विषय सुल्झिएको छ।

बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले लामो समयदेखि विमानस्थल निर्माणको विषय थाती रहेको र सुल्झाउन आग्रह गरेका थिए।

सो क्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलगायत मन्त्रालयका सचिवहरूले आ–आफ्नो धारणा राखेका थिए।

प्रकाशित मिति: २ फाल्गुन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्