राहदानी वितरणमा देखिएको समस्या छिट्टै समाधान हुन्छ : परराष्ट्र मन्त्रालय



काठमाडौँ, ८ साउन । परराष्ट्र मन्त्रालयले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएको प्राविधिक समस्या छिट्टै समाधान हुने जनाएको छ।

सिंहदरबारमा शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ प्रविधि लागू गर्दा केही प्राविधिक समस्या देखिए पनि त्यसको समाधानको काम तीव्र रूपमा भइरहेको बताए।

गत असार २९ गतेदेखि राहदानी जारी गर्ने नयाँ प्रणाली लागू भएपछि राहदानी छपाइ तथा वितरणमा केही ढिलाइ भएको र राहदानी विभागमा सेवाग्राहीको चाप बढेको उनले बताए।

प्रवक्ता क्षेत्रीका अनुसार नयाँ प्रणालीमार्फत हालसम्म ८ हजार २६० वटा राहदानी छापिइसकेको छ। अहिले दैनिक करिब १ हजार ३०० राहदानी छपाइ भइरहेकाले देखिएको समस्या लामो समय नटिक्ने उनले बताए।

पत्रकार सम्मेलनमा उनले दक्षिणपूर्वी एसियाका विभिन्न देशमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रमा फसेका नेपालीहरूको उद्धारबारे पनि जानकारी दिए। उनका अनुसार सरकारले हालसम्म ८६० नेपालीको उद्धार गरेको छ।

प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार