आधा किलो भन्दा बढी सुनसहित एक भारतीय पक्राउ
काठमाडौं । प्रहरीले आधा किलो भन्दा बढी सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतीय नागरिक मुकेश महादेव चाँगु छन्। भारतको महाराष्ट्र घर भएका ३० वर्षीय चाँगुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ बस्दै आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उनीबाट प्रहरीले ७६१.६६ ग्राम सुन बरामद गरेको छ । त्यसैगरी ३ किलो १ सय ग्राम अवैध चाँदी पनि बरामद भएको छ ।
उनीबाट ५ लाख १० हजार नगद पनि बरामद भएको छ । विदेशबाट आएका व्यक्तिहरुको सुन किनेर उनले बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रकाशित मिति: ५ फाल्गुन २०८१, सोमबार
















