संसदमा ज्ञानेन्द्र शाहीले भने– ओली सरकारबाट भलो भएन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाउन नसकेको विषय संसदमा उठाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद शाहीले प्रमुख प्रशासकीय अधिकृत नपठाएको भनेर संघीय सरकारको आलोचना गरे । उनले भने–‘गाउँ गाउँमा सिंह गयो, दरबार गएन, ओली सरकारबाट जनताको कहिले पनि भलो भएन । काठमाडौं महानगरपालिका सहित देशका धेरै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत ठप्प रोकेर राखेको छ ।’
प्रमुख प्रशासकीय अधिकृत नहुँदा सम्बन्धित स्थानीय तहबाट हुने सेवा प्रवाहमा असर परेको उनले बताए । उनले तलब रोकिँदा शिक्षक र कर्मचारी पनि समस्यामा परेको बताए ।
उनले भने–‘काठमाडौं महानगरपालिकामा सरसफाइ गर्ने कर्मचारीले तलब खान पाएका छैनन । यो ओली सरकारलाई त्यसको पाप लाग्ला । प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौं महानगरपालिकाका शिक्षक र स्वास्थ्य सेवाका कर्मचारीले पनि तलब पाउन नसकेको भन्दै उनले ओली सरकारको आलोचना गरे ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह जस्तासँग डर लागे स्थानीय तहको चुनाव नै नगर्ने बाटो अवलम्बन गर्न उनले संघीय सरकारलाई चेतावनी दिए ।
उनले भने–‘यदि तपाईंहरूलाई नयाँ साथीहरूप्रति डर लाग्छ भने आउने स्थानीय तहको चुनाव नगर्नुस्, आफ्ना कार्यकर्तालाई घोषणा गर्नुस् । होइन भने कर्मचारीलाई रोकेर स्थानीय तहलाई ठप्प पार्न पाइँदैन ।’
प्रकाशित मिति: १३ फाल्गुन २०८१, मंगलबार
















