वर्तमान सरकार भ्रष्टाचारीहरुको संरक्षण गर्न बनेको हो : प्रचण्ड
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार भ्रष्टाचारीको संरक्षण गर्न बनेको बताएका छन् ।
हुलाकी मार्ग केन्द्रित तराई-मधेश जागरण अभियानका क्रममा विराटनगरमा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएकी हुन् ।
उनले भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यले नै वर्तमान सरकार बनेको आरोप लगाए।
अध्यक्ष प्रचण्डले आफ्नो सरकारले भ्रष्टाचारीलाई कारबाहीमा ल्याउने अभियान चलाएपछि उनीहरुलाई संरक्षण गर्न कांग्रेस-एमाले गठबन्धनको सरकार बनेको दाबी गरे।
अध्यक्ष प्रचण्डले भने,‘हामीले सुशासन कायम गर्न खोज्यौं । भ्रष्टाचारी विरोधी अभियान सुरु गरेवापत, भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन थालेवापत भ्रष्टाचारीको संरक्षण गर्ने उद्देश्यले नै अहिलेको गठबन्धन सरकार बनेको हो।’
उनले आफ्नो सरकारले सुरु गरेको त्यही सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई राष्ट्रव्यापी रुपमा जनताको बीचमा लैजान जागरण अभियान सुरु गरेको बताए।
यसबाहेक अभियानको अर्को उद्देश्य दक्षिण भेगमा रहेका आदिवासी जनताति, मधेशी, थारुको मुद्दा स्थापित गर्नू र राष्ट्रिय एकता सुदृढ गर्नु रहेको अध्यक्ष प्रचण्डको भनाइ छ।
प्रकाशित मिति: १४ फाल्गुन २०८१, बुधबार
















