ढुङ्गेलको नेतृत्वमा एएनओ अस्ट्रेलिया गठन
सिड्नी, अष्ट्रेलिया, १५ फागुन । एशोशियसन अफ नेपाली ओरिजिन (एएनओ)ले अस्ट्रेलियामा शाखा विस्तार गरेको छ ।
भुटानीमूलका नेपालीभाषी डम्बर ढुङ्गेलको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ ।
कार्यसमितिको उपाध्यक्षमा दिनेश कठायत, महासचिवमा गगन विडारी, उप–महासचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा लिला भण्डारी रहनुभएको छ । साथै सदस्यहरुमा निकेश शर्मा, राम खतिवडा, युवराज शर्मा, हरि पोखरेल, खगेन्द्र आचार्य, आशिका राई, बिजय बस्नेत, सरिता ढकाल, भवानी ढकाल, पुष्प आचार्य, गोविन्द गौतम रहेको जनाइएको छ ।
नेपाल पुख्र्यौली भइ भुटान, बर्मा, भारतलगायत विभिन्न देशमा छरिएर रहेका नेपालीहरुलाई एशोशियसन अफ नेपाली ९एएनओ० ले समेटेको एएनओ अन्तर्राष्ट्रियका महासचिव सिएम भट्टराईले बताउनुभयो ।
नेपाललाई पितृभूमि मान्ने नेपालीभाषीहरुको संस्था रहेकाले नेपाली कला संस्कृती जगेर्ना गर्ने उद्देश्यले संस्थालाई विश्वभर फैलाउने उद्देश्यले स्थापना गरिएको हो । अष्ट्रेलिया कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले भाषा र संस्कृति जोगिए हामी जोगिन्छौ भन्दै सबैले यसमा येगदान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालीभाषी समुदायलाई नेपालको समृद्धिमा क्रियाशील हुन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ गीता वाग्ले, अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एशोशियसनका अध्यक्ष कृष्ण तिवारी, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एएनओ उपाध्यक्ष ओम गुरुङले विश्वभर छरिएर रहेका नेपाली समुदायको एकताले नेपालको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।
गत वर्षको मार्च २४ मा थाइल्याण्डको बैङ्ककमा ३२ देशका नेपालीभाषीहरुले भुटानी नेपाली मूलका अमेरिकन व्यवसायी डिल्ली अधिकारीको नेतृत्वमा एएनओ गठन भएको थियो । यसअघि यसको शाखा बेलायत, पोर्चुगलमा गठन भइसकेको संस्थाका केन्द्रीय सदस्य भिम बस्नेतले बताउनुभयो ।
प्रकाशित मिति: १५ फाल्गुन २०८१, बिहिबार
















