ओली र आरजुलाई जुत्ताको माला देखाउन फेसबुकबाट आह्वान गर्ने थापा अमेरिकामा पक्राउ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहनजंग थापा अमेरिकामा पक्राउ परेका छन् । रास्वपा सभापति रवि लामिछानेका निकट थापा गतहप्ता अमेरिकाको पेन्सिलभेनियाको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् ।
थापालाई अहिले फिलाडेल्फिया संघीय हिरासतमा राखिएको छ । थापा अमेरिका उड्नु अघिल्लो दिन सभापति लामिछानेको परिवार र रास्वपा नेता डीपी अर्याल, शिशिर खनालसहित नक्सालको एक रेष्टुरेन्टमा डिनर गरेका थिए । कतार हुँदै अमेरिका पुगेपछि उनी पक्राउ परेका थिए ।
अमरिकी आप्रवासन तथा भन्सार प्रबर्तन (आईएस)ले थापालाई पक्राउ गरेको बताइएको छ । थापा अमेरिकी ग्रिनकार्ड होल्डर हुन् । लामिछाने थुनामा पर्नेबित्तिकै नेपालमा आएर धरौटीमा छुटाउन थापा क्रियाशील थिए ।
पोखरादेखि भैरहवा हुँदै चितवनसम्म उनी रविलाई थुनामुक्त गराउन सक्रिय थिए । अमेरिकामा थापाबिरुद्ध चेक बाउन्स, ठगीमा यसअघि नै कारबाही भइसकेको छ ।
थापाले राष्ट्रसंघ महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा न्युयोर्क गएका बेला कालो झण्डा र जुत्ताको माला देखाउने भन्दै फेसबुकबाट आह्वान समेत गरेका थिए।
प्रकाशित मिति: १८ फाल्गुन २०८१, आइतबार
















