माओवादी र मधेसी जनताबीच दह्रो एकता कायम गर्ने प्रयासमा प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसीलगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको दावी गरेका छन् ।

धनुषाको कमला नगरपालिका वडा नम्बर ३ पर्सामा आयोजित सहिद परिवार सम्मान तथा जनभेटघाटमा बोल्दै उनले महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारुलगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौं सहिदले बलिदा गरेको र मधेसी जनताको मुक्तिका लागि एक हजार तीन सय मधेसी जनताका छोराछोरीले जनयुद्धमा बलिदान गरेको बताए।

मधेसी जनताको मुक्तिका लागि यति ठूलो बलिदान गरेको माओवादीकै विषयमा अनेकथरि भ्रम सिर्जना गर्ने प्रयास गरिएको बताउँदै उनले अब यो भ्रमको पर्दा च्यातेर माओवादी र मधेसी जनताबीच दह्रो एकता कायम गर्ने प्रयास गरिएको बताए।

मधेसी जनताको मुक्तिका लागि मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेर मधेसी जनतामा जागरणको लहर ल्याउने, मधेस स्वायत्त जनसरकारमार्फत संघीयताको व्यवहारिक अभ्यास गर्ने, संविधानमार्फत संघीयत, समानुपातिक र समावेशी प्रतिनिधित्व स्थापित गर्ने, गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको रुपमा रामराजाप्रसाद सिंहलाई अघि सार्ने र मधेसको विकासका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने लगायत महत्त्वपूर्ण काम आफ्नै पार्टीले गरेको उनले दाबी गरे।

प्रकाशित मिति: १८ फाल्गुन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्