रास्वपा सांसद खनालको प्रश्न – प्रधानमन्त्रीज्यू के तपाईं हिटलर बन्दै हो ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई के तपाईं हिटलर बन्दै हो भन्दै प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले उक्त प्रश्न गरेका हुन् । सांसद खनालले प्रधानमन्त्रीलाई के तपाईं हिटलर हो भनेर प्रश्न सोधेकै भरमा संसद छिर्ने पास निलम्बन गरेको भन्दै आपत्ति जनाए।
सांसद खनालले भने,‘के तपाईं हिटलर हो ? भनेर प्रश्न सोधेको आधारमा दुई जना पत्रकारको पास संघीय संसदले निलम्बन गरेछ। केही दिन अगाडि यही सत्तापक्षका माननीयले निर्वाचन जितेर आएको मानिस पनि हिटलर हुनसक्छ र भनेर प्रश्न सोध्नुभएको थियो। संसद सचिवालयलाई सचेत गराउनुभएको थियो। आज निलम्बनको खबर आयो।’
प्रधानमन्त्रीलाई तपाईं हिटलर बन्दै हो भनेर सञ्चारकर्मीले प्रश्न सोधेको भन्दै एमाले सांसद सूर्य थापाले संसदमा प्रश्न उठाएका थिए।
उनले चुनाव जितेर आएको प्रधानमन्त्रीलाई हिटलर बन्न लागेको हो भनेर प्रश्न सोधेकोसमेत बताएका थिए। रास्वपा सांसद खनालले संसद निरन्तर सत्ताको छाया बन्दै गएको आरोप लगाए।
प्रकाशित मिति: २१ फाल्गुन २०८१, बुधबार
















