कांग्रेस प्रमुख सचेतक घिमिरे भन्छन् – कुलमानलाई सबै प्रतिपक्षी दलहरूको अध्यक्ष बनाइदिऔं



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सबै प्रतिपक्षी दलहरूको अध्यक्ष बनाइदिनुपर्ने बताएका छन्।

प्रतिनिधि सभा बैठकमा ऊर्जामन्त्री दीपक खड्काले विद्युत प्राधिकरण र घिसिङसँग सम्बन्धित विषयमा धारणा राखेपछि दलीय आधारमा बोलेका कांग्रेस प्रमुख सचेतक घिमिरेले सो कुरा बताएका हुन् ।

उनले घिसिङलाई देवत्वकरण गर्ने काम भइरहेको बताए। प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रसहित सबै प्रतिपक्षी दलका सांसदहरू उठेर घिसिङमाथि पटकपटक स्पष्टीकरण सोध्ने काम भएको र कार्यसम्पादनमा शून्य नम्बर दिएकोबारे सरकारको जबाफ मागेका थिए।

त्यसतर्फ लक्ष्य गर्दै कांग्रेस प्रमुख सचेतक घिमिरेले घिसिङलाई देवत्वकरण नगर्न भनेका हुन्। यदि देवत्वकरण गर्ने हो भने सबै प्रतिपक्षी दलहरूको अध्यक्ष बनाइदिएपछि ढुक्क हुने अभिव्यक्ति उनले दिए।

एक जना कर्मचारीका लागि सिङ्गो प्रतिपक्ष उठेर संसदमा विरोध गरेको उनको भनाइ थियो। घिसिङका केही राम्रा र नराम्रा पक्ष होलान् भन्दै उनले नेपालका कर्मचारीतन्त्र दूधले नुहाएका छैनन् भनेका छन्।

प्रकाशित मिति: २२ फाल्गुन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्