पाकिस्तानमा गर्मीले सात सयको मृत्यु


 


इस्लामाबाद, असार ९

सामुद्रिक किनारमा अवस्थित पाकिस्तानी एक सहर कराचीमा तीन दिनयतादेखि भीषण रूपमा चलेको तातो हावाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या करिब ७०० पुगेको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

यहाँको अस्पतालमा आपत्काल घोषणा भएको र स्वास्थ्यकर्मीहरू बिरामीको उपचारमा कार्यरत रहेका जनाइएको छ ।

कराचीको प्रान्तीय राजधानीमा अवस्थित एक प्रमुख अस्पतालमा तातोहावा अर्थात् लूको कारण बिरामी भएर आएका व्यक्तिको ठूलो सङ्ख्यामा मृत्यु भएको र त्यहाँ तीन हजारभन्दा बढी व्यक्ति उपचारार्थ रहेको चिकित्सक सेमी जमालीले एएफपी समाचार समितिलाई बताए।

पाकिस्तानको मौसम विज्ञान विभागका अनुसार सन् १९९७ यता हाल आएर पाकिस्तानको आर्थिक केन्द्रका रुपमा रहेको कराची सहरको तापक्रम पहिलो पटक ४५ डिग्री पुगेको छ । कराची सहरको करिब दुई करोड व्यक्तिको बसोबास रहँदै आएको छ ।

पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले यस घटनाप्रति गहिरो दुःख प्रकट गरेको प्रधानमन्त्री कार्यालयद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । सो विज्ञप्तिमा सरिफले उपचारार्थ अस्पताल भर्ना भएका व्यक्तिहरूका लागि सक्दो राम्रो उपचारका लागि पनि आदेश दिनुभएको जनाइएको थियो ।

पाकिस्तानको मानवअधिकार नियोगले थप व्यक्तिको ज्यान जानबाट जोगाउनका लागि सरकारले तुरुन्तै प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने जनाएको छ ।

यसैबीच प्रान्तीय सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ र यहाँका बासिन्दालाई घरमै बस्न सल्लाह दिएको छ । यस प्रकोपबाट ज्यान गुमाउने प्रायः दिउँसो घर बाहिर काम गर्ने श्रमिक परेको एक अधिकारीले बताएका छन् ।

केही समय अगाडिमात्र पाकिस्तानको छिमेकी राष्ट्र भारतमा गर्मीको लहरका कारण दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । रासस/एएफपी

प्रकाशित मिति: ९ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्