सर्यो कक्षा १२ को परीक्षा, वैशाख २१ गतेदेखि गर्ने बोर्डको निर्णय
काठमाडौं, ९ वैशाख। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।
मंगलबार साँझ बसेको बोर्डको बैठकले वैशाख १२ गतेदेखि गर्ने भनिएको परीक्षा २१ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।
बोर्डले परीक्षाको तालिका भने भोलि मात्रै सार्वजनिक गर्ने जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिनुभएको थियो । सोही अनुसार परीक्षा बोर्डले केहीबेरमा परीक्षा सर्ने जानकारी गराउँदै सूचना निकाल्दैछ ।
शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा सारिएको हो ।
मंगलबार साँझ बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिनुभएको थियो ।
प्रकाशित मिति: ९ बैशाख २०८२, मंगलबार
















