कस्तो बन्यो ‘द कपिल शर्मा शो’की रिंकु भाभीको म्युजिक भिडियो?


 


काठमाडौं, फागुन २७

‘द कपिल शर्मा शो’मा डक्टर मसहुर गुलाटी र रिंकु भाभीको चरित्र निभाएर सबैको मन जितेका अभिनेता सुनिल ग्रोभर पछिल्लो समयमा निकै चर्चामा छन् । कपिल शर्मा शो उनी नभए खल्लो लाग्ने केही कलाकार र दर्शकहरुले बताउँदै आएका छन् ।

हुन पनि उनी कपिलको शोमा स्वादीलो चट्नी बनेर प्रस्तुत हुन्छन् । शोमा उनले बोल्ने हरेक शब्दहरु हाँसोको खुराक बनिदिन्छन् । सुनिलले टेलिभिजन शो बाहेक केही सिनेमाहरुमा पनि काम गरेका छन् । उनलाई दर्शकले सिनेमामा पनि रुचाएका छन् ।

उनले प्यार तो होना हि था, गजीनी, ईंसान, हिरोपन्ती, गब्बर ईज ब्याक, बागी लगायतका सिनेमामा काम गरेका छन् । त्यस्तै उनको सिनेमा ‘कफी विद डी’ रिलिज हुने तयारीमा छ । बिभिन्न भेषमा अभिनय गरेर दर्शकको मन जितेका सुनिलले हालै मात्र एक म्युजिक भिडियोमा काम गरेका छन् ।

उनी यो भिडियोमा रिंकु भाभीको भूमिकामा छन् । अर्थात कपिल शर्मा शोकी रिंकु भाभीको चरित्रमा उनी यो म्युजिक भिडियोमा देखिएका छन् । उनकै शब्द र आवाज रहेको यो गीतमा गुरु धनोवाको संगीत छ । म्युजिक भिडियोलाई समिप काङले निर्देशन गरेका छन् ।

भिडियोमा श्रीमानले सबै काम गर्दा पनि श्रीमतीले श्रीमानबाट सोचेजति माया नपाएको कुरालाई कमेडि तरिकाले प्रस्तुत गरिएको छ । अर्को अर्थमा भन्नु पर्दा महिलाहरुले पुरुषलाइ कज्याउन खोजेको कुरा देखाईएको छ । यो भिडियोलाई अन्र्तराष्ट्रिय महिला दिवसको अवसर पारेर रिलिज गरिएको हो ।

प्रकाशित मिति: २७ फाल्गुन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्