नायिका खुश्वु खड्काको विहेमा कुटाकुट !


 


साधारणतया जग्गे शुभकार्यका लागि बनाइन्छ । वैवाहिक कार्यक्रमका लागि होस् या कुनै पूजाआजाको लागि होस्, जग्गे अनिवार्य हुन्छ ।

र, हालै चोभारमा भने अलिक भिन्न दृश्य देखिएको छ ।

विवाहका लागि जग्गे बनाइए पनि जग्गेमा विवाह हुन छाडेर ठूलै द्वन्द्व चलिरहेको थियो । केटा र केटीलाई केही युवाले समातेर लछार्दै जबर्जस्ती विवाह गराउन खोज्दै थिए ।

केटी आत्तिरहेकी थिइन् भने केटा पनि डराइ–डराइ उनलाई सिन्दूर लगाउन खोजिरहेका थिए ।

सिन्दूर लगाउन हात अगाडि बढाउँदा एकजना जुल्फे कपाल भएका युवक हातमाथि लडेपछि केटीलाई सिन्दूर लगाइदिने केटाको चाहना अपूरै रह्यो ।

यो दृश्य कुनै वास्तविक थिएन केवल बनावटी मात्र थियो । सुटिङ र डेटिङको हब मानिने चोभारको एउटा डाँडामा भएको यो दृश्य फिल्म ‘सिस्टम द रुल्स’ को छायांकनको थियो ।

सुटिङस्थलमा नायिका खुश्वु खड्का आधुनिक पहिरनमा बेहुली बनेकी थिइन् भने फिल्मका अर्का एक पात्र पनि आधुनिक पहिरनमै बेहुला बनेका थिए ।

यी दुईलाई फिल्मका खलपात्र पुष्कर भट्ट, तेजा ऐरको गुण्डाको समूह जबर्जस्ती बिहे गराउन खोजिरहेका थिए । तर, फिल्मका प्रमुख अभिनेता आयुष रिजालको इन्ट्री भएपछि विवाहले पूर्णता पाएन ।

‘यो जबर्जस्ती विवाह गर्न खोज्दा आउने परिणाम र तनावको दृश्य हो,’ फिल्ममा कलाकार र संयोजकको जिम्मेवारी लिएका अभिनेता दिनेश शर्माले भने, ‘सुरुमा गुण्डागर्दी गर्ने युवा एक युवतीको प्रेममा परेपछि पुरानो बानीलाई छोडेर नयाँ शैलीमा सुध्रिएको हुन्छ, तर त्यो व्यवहार उसका मालिकलाई मनपरेको हुँदैन, जसकारण उक्त केटीसँग युवकको मिलन हुन नदिन अर्को केटासँग विवाहको तयारी हुन्छ ।’

फिल्मका निर्देशक निरज घिमिरे भए पनि अभिनेता शर्माले नै कलाकारहरूलाई अभिनयको तरिका सिकाइरहेका थिए ।

कलाकारको द्वन्द्व गराउने काम चाहिँ जनक गुरुङको जिम्मामा थियो । हातमा बन्दुक, खुकुरी, तरबार बोकेका खलपात्रहरू फिल्मको सट दिँदा निकै जोसिन्थे ।

फिल्ममा सिवानीको भूमिकामा देखिएकी खुश्वुले फिल्मले समाजमा हुने राम्रा र नराम्रा पक्षलाई समेटेको बताइन् ।

‘यो त्रिकोणात्मक प्रेमकथाको फिल्म हो, समाजमा नियम र कानून भएन भने अवस्था कस्तो हुन्छ भन्ने कुरा फिल्मले देखाउँछ,’ अभिनेत्री खड्काले भनिन् । अभिनेता आयुषले फिल्ममा आफू व्यवसायीको भूमिकामा रहेको खुलाउँदै युवतीलाई अप्ठ्यारोमा पर्दा आफूले सहयोग गर्ने पात्र समेत रहेको जनाए ।

निर्देशक घिमिरेका अनुसार फिल्मको क्लाइमेक्स सकिए पनि गीत खिच्न भने बाँकी रहेको छ । डुअर वे इन्टरटेनमेन्टको पहिलो प्रस्तुती रहेको फिल्मका निर्माता सविना राई हुन् ।

फिल्ममा आयुष रिजाल, खुश्वु खड्का, दिनेश शर्मा, पुष्कर भट्ट, तेजा एर, रामचन्द्र अधिकारी, राजु घिमिरे र अविनाश गजुरेललगायतको अभिनय तथा अजय स्याङतानको नृत्य, विनय केटुको संगीत र पवन गौतमको छायांकन रहेको छ ।

प्रकाशित मिति: ११ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्