कञ्जुस थिए माइकल ज्याक्सन


 


लसएञ्जल्स (एजेन्सी)

विश्वभरमै अझै पनि स्वर्गीय पप किङ माइकल ज्याक्सनका करोडौँ फ्यान छन् । शो बिजनेसको आकडा घटे पनि उनको सिर्जना र प्रदर्शनको आकडा भने कहिल्यै घटेन । उनी जिन्दगीभर यसैको भुलभुलैयमै रमाइरहे ।

चारदेखि पाँच वर्षको अन्तरमा एल्बम निकाले पनि उनका फ्यान त्यो लामो भोकको कहिल्यै चिन्ता लिएनन् । त्यसकारण केही विश्लेषकले ज्याक्सनको सुस्त शैलीको कामलाई ‘कञ्जुस ज्याक्सन’ भनेर पनि विश्लेषण गर्थे ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ज्याक्सन एउटा सोलो आर्टिष्टका रूपमा ३० वर्ष सक्रिय रहे भने एउटा कलाकारको रूपमा चार दशक बिताए । शो बिजनेसमा चालीस वर्ष बिताएका ज्याक्सनले यो अवधिमा लगभग एक सय ५० सोलो र अन्य २ सय गीत गाए ।

उनले श्रोतालाई दर्जन मात्र एल्बम दिए । चालीस वर्षको करियरमा यति थोरै मात्राको उनको सिर्जनाले पनि करियरमा ज्याक्सन कति कञ्जुस थिए भन्ने प्रस्ट्याउँछ । संगीतमा संख्याभन्दा पनि गुणस्तरलाई ध्यान दिने भएकै कारण उनले फ्यानलाई कम मात्र गीत दिएको उनी निकटका साथीहरूको बुझाइ छ ।

भनिन्छ, हजारौँ र लाखौँ फ्यानका भीडमा ज्याक्सन बौराए पनि उनी आफ्नो व्यक्तित्वलाई लोप बनाउँथे । विश्लेषकहरू उनको उपस्थितिलाई ऊर्जावान, गायनलाई उत्कृष्ट र प्रस्तुतीलाई अद्भूत मान्दथे ।

‘तर, प्रस्तुती सकिनासाथ उनको दोहोरो व्यक्तित्व एउटा संकुचित आवरणमा फर्कने गर्दथ्यो,’ एक विश्लेषकले भनेका छन्, ‘उनको नृत्य परम्परागत हुँदैन थियो, त्यो गीतको भावमा गरिएको मुभमेन्ट हुन्थ्यो, पटक–पटक हातलाई झटार्नु कुनै नृत्यको शैली होइन ।’

प्रकाशित मिति: ११ असार २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्