७२ जिल्ला विदेशीलाई लिजमा दिने अमरेशको अभिव्यक्ति संसदीय रेकर्डबाट डिलिट



काठमाडौं । ७२ जिल्ला विदेशीलाई लिजमा दिने प्रतिनिधि सभा सदस्य अमरेश कुमार सिंहको अभिव्यक्ति संसदीय रेकर्डबाट डिलिट भएको छ ।

आइतबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा बोल्दै उनले चार÷पाँच जिल्लामा मात्रै बजेट केन्द्रित रहेको बताउँदै बजेट कम परेका जिल्लालाई विदेशीलाई लिजमा दिन भनेर सरकारमाथि व्यङ्ग्य गरेका थिए ।

सिंहले भनेका थिए–‘बजेट पाएका चार÷पाँच जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौं बाँकी ७२ जिल्ला लिजमा दिऔं अर्को देशलाई । अमेरिकालाई दिऔं, चाइनालाई दिऔं, भारतलाई दिऔं । ति जिल्लामा बजेट नै जाँदैन भने किन राख्ने ? खाली कर लिनलाई राख्ने ?’

तर, उनको यस्तो अभिव्यक्ति नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डतासँग जोडिएको भनेर नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नियमापत्ति गरेका थिए।

लगत्तै सभामुख घिमिरेले पाँच वटा जिल्लाको नाम लिएर बाँकीलाई लिजमा दिए हुन्छ भनेर दिएको अभिव्यक्ति असंसदीय रहेको भनेर संसदीय रकर्डबाट हटाउन संघीय संसद् सचिवालयलाई निर्देशन दिए ।

तर सांसद सिंहले सानातिनालाई मात्रै होइन, अरू दलकालाई पनि रुलिङ गर्न माग गरे । सभामुख घिमिरेले निर्धारित विषयमा नबोल्ने भए ड्यास छाडेर तल जान भनेका थिए । तर अमरेशले बरू नबोल्ने तर ड्यास छाडेर तल नजाने बताए ।

प्रकाशित मिति: ८ असार २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्