नाबालिग बलात्कार आरोपमा वाईसीएलका इन्चार्ज पक्राउ
दाङ । नाबालिग बलात्कार आरोपमा वाईसीएलका रूकुम पश्चिमको चौरजहारी नगरपालिका इन्चार्ज रेशम केसी पक्राउ परेका छन् ।
जाजरकोटकी एक १७ वर्षीया किशोरीको जाहेरीमा वाईसीएलको कर्णाली प्रदेश कमिटी सदस्यसमेत रहेका केसी गएराति सानीभेरी गाउँपालिकाको एक होटेलबाट पक्राउ परेका हुन् ।
रूकुम पश्चिम प्रहरी प्रमुख प्रमेश विष्टका अनुसार किशोरीले दुई महिना पहिले उनीविरूद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।
जाहेरीमा रेशमले २०७९ सालमा चौरजहारीको एक होटेलमा लगेर बलात्कार गर्दा गर्भ बसेर छोरीको जन्म भएको समेत उल्लेख छ ।
पहिले विभिन्न आश्वासन दिएर उजुरी दिनबाट रोके पनि आश्वासन पूरा नगरेपछि युवतीले उजुरी दिएकी हुन् । पक्राउ परेका केसीलाई आज म्याद थपका लागि अदालत हाजिर गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार
















