कुलिङ पिरियड बारे सभापति खतिवडाले भने–नैतिक जिम्मेवारी लिन्छु, कमजोरी देखिए कारबाही भोग्छु



काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियडमा देखिएको कमजोरीको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् ।

मंगलबार समिति बैठकमा माओवादी सांसदद्वय माधव सापकोटा र कल्पना मियाँले समितिले पास गरेको प्रतिवेदनमा ‘बाहेक’ शब्द कसरी थपियो भन्ने विषयमा जवाफ मागेपछि खतिवडाले भएको कमजोरीको नैतिक जिम्मेवारी लिने बताएका हुन् ।

सभापति खतिवडाले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा भएको गडबढीबारे आफूले नैतिक जिम्मेवारी लिने बताएका हुन् ।

सभापति खतिवडाले भने–‘जनप्रतिनिधिको बदनाम गर्ने काम भएको छ । कहाँ कमजोरी भएको हो, छानबिन गर्छौं । मेरो कमजोरी देखिए म कारबाही भोग्छु । जसको कमजोरी देखिन्छ, त्यसले कारबाही भोग्नुपर्छ । उम्किन पाइन्न ।’

सभामुख देवराज घिमिरेसँगको छलफलमा सभापति खतिवडाले समितिबाट जस्तो पास भयो, त्यस्तै प्रतिवेदन तयार गरेको जवाफ दिएका थिए। ‘बाहेक’ शब्द कसरी पर्न गयो भन्ने आफूलाई जानकारी नरहेको खतिवडाले बताए।

छलफलमा सहभागी भएको खतिवडाले ‘जसरी समितिबाट पास भयो, मैले त्यसरी नै पठाएको’ बताएका थिए ।
‘प्रतिवेदनमा त सभापतिको पनि त सही छ नि ?’ भनेर सभामुखले सोध्दा खतिवडाले यस विषयमा आफू छानबिनका लागि तयार रहेको बताएका थिए।

छलफलमा समितिका १२ जना सांसदहरू उपस्थित थिए।

सभामुख घिमिरेले सांसदहरूलाई पनि सोधे–‘कुन प्रक्रियाबाट भयो यस्तो ? तपाईँहरुले पठाएकोमा थियो कि थिएन ? फाइनल प्रतिवेदन बनेपछि हाउसमा जानुअघि तपाईँहरूले हेर्नुभयो कि हेर्नुभएन ?’

सदस्यहरू सबैजसोको भनाइ थियो–‘हामीलाई हेर्नै दिइएन। हामीले हेर्न पाएनौँ। सभापतिले पनि दिनुभएन, सचिवले पनि दिनुभएन।’

सभामुखले फेरि पनि सोधिरहे–‘तपाईँहरूले अन्तिम प्रतिवेदन किन हेर्नुभएन ?’

अरू बेला पनि समितिबाट पारित भइसकेको प्रतिवेदनलाई सभापति र सचिवले अन्तिम रूप दिएर सदनमा प्रस्तुत गर्ने गरेको परिपाटी रहेको जवाफ सांसदहरूले।

सांसदहरूको भनाइ थियो–‘यो त विश्वासमा हुने कुरा पनि हो। पहिला पनि सबै हेर्ने गरिएको थिएन। तयार भएपछि सभापति र सचिवले लिएर जाने हो। हामीले अरु पनि हेर्दैनथ्यौँ। हामीले भनेबमोजिमकै गयो होला भन्ने भयो तर फरक प्रतिवेदन बनाइएछ।

प्रकाशित मिति: १७ असार २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्