मेरी बास्सैकी कलाकार लक्ष्मी श्रेष्ठ ‘अप्सरा’को निधन
काठमाडौँ । हास्य टेलिसिरियल ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’को भूमिकाबाट चर्चामा आएकी श्रेष्ठको निधन भएको छ ।
स्तन क्यान्सरबाट ग्रसित श्रेष्ठको शुक्रबार राति निधन भएको कलाकार सिताराम कट्टेल धुर्मुसले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
सिरियलमा उनले धुर्मुसद्वारा अभिनीत पात्र ‘खड्काजी’की श्रीमतीको रूपमा छुच्ची स्वभावकी ‘अप्सरा आमा’को भूमिका निभाएकी थिइन् । पछिल्ला केही सातादेखि उनी ओछ्यानमै थलिएकी थिइन् ।
लामो समयदेखि अभिनयमा सक्रिय रहेकी श्रेष्ठले ‘मेरी बास्सै’ बाहेक ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ जस्ता टेलिसिरियल तथा ‘लक्का जवान’ फिल्ममा पनि अभिनय गरेकी थिइन् । श्रेष्ठले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेकी थिइन् ।
प्रकाशित मिति: २१ असार २०८२, शनिबार
















