आवेग र उत्तेजनामा होइन, संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँ : उपमेयर डंगोल



काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेट ल्याउने वातावरण बनाउन मेयर बालेन शाहलाई भेटेरै आग्रह गरेको बताएकी छन् ।

सोमबार फेसबुकमा स्टाटस लेखेर उपमेयर डंगोलले बजेट ल्याउने वातावरण बनाउन मेयर शाह, प्रवक्ता र कार्यपालिकाका केही सदस्यसँग छलफल गरेको बताएकी हुन् ।

‘कार्यपालिका र नगरसभाका साथै बजेट तर्जुमा तथा कार्यक्रम समितिमा समेत मैले यस विषयमा कुरा राखेकी छु,’ उनले भनिन्, ‘आइतबार मात्रै पनि मेयरज्यू, प्रवक्ता तथा केही कार्यपालिका सदस्यज्यूहरूसँगको अनौपचारिक भेटघाटमा बोर्ड बैठक र नगरसभा छिटो सम्पन्न गर्ने विषयमा विस्तृत छलफल गरेको छु।’

छलफलबाट सकारात्मक संकेत पाएको उपमेयर डंगोलले बताएकी छन् । कानुनअनुसार काठमाडौं महानगरपालिकाले असार १० गते नै बजेट प्रस्तुत गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्छ।

तर, आजसम्म पनि बजेट निर्माणका लागि आवश्यक पर्ने कार्यपालिका र नगरसभाका बैठक मात्रै होइन बजेट तर्जुमा तथा कार्यक्रम समिति र मेयर नेतृत्वको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति जस्ता महत्वपूर्ण समितिका बैठकसमेत बस्न सकेका छैन।

उपमेयर डंगोलले महानगरवासीले यहाँको विकास, समृद्धि र जनहितमा काम गर्न निर्वाचित गरेर पठाएकाले त्यो जिम्मेवारी पूरा नगरे काठमाडौंबासीलाई धोका दिएको ठहरिने पनि बताइन् ।

‘म सबै जनप्रतिनिधि साथीहरूलाई आग्रह गर्न चाहन्छु कि हामीले संविधान र कानुनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी, वातावरण बिगार्ने होइन सम्हालेर, आवेग र उत्तेजनामा होइन संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँ,’ उनले भनेकी छन्, ‘डुंगा प्वाल पारेर अरुलाई खसाल्ने र आफू मात्रै बाच्ने दुर्भाग्यको बाटो रोज्ने, खोज्ने प्रयास नगरौँ। हामी सबै हातेमालो गरेर अघि बढौँ।’

प्रकाशित मिति: २३ असार २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्