जङ्गलमा लगेर प्रेमिकाको हत्या, प्रेमी पक्राउ
काभ्रेपलाञ्चोक । बनेपामा प्रेमिकाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
अर्कै युवकसँग लागेर टाढिएको भन्दै प्रेमिका शर्मिला उप्रेतीको हत्या गरेको आरोपमा रामेछापको मन्थली-१३ का ३७ वर्षीय सन्तोष सुनार पक्राउ परेका छन् । उनलाई प्रहरीले आइतबार मध्यरात एक इँट्टाभट्टाबाट पक्राउ गरेको जनाएको छ ।
शर्मिला जिल्लाको चौंरीदेउराली गाउँपालिका-१ डाँडाखर्क घर भई बनेपा बस्दै आएकी थिइन् ।
प्रहरीका अनुसार सुनारले शर्मिलाको हत्या गर्नुको कारण प्रारम्भिक बयानका क्रममा खुलाएका हुन् ।
जिल्ला अदालतबाट चार दिनको म्याद लिएर सुनारमाथि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी (डीएसपी) मीनबहादुर घलेले बताए ।
गत २३ असारदेखि नै हराएकी युवतीको शव आइतबार दिउँसो बनेपा नगरपालिका–१३ मा पर्ने भगवान् थुम्की सामुदायिक जंगलमा फेला परेको थियो ।
प्रकाशित मिति: ६ श्रावण २०८२, मंगलबार










