भागबन्डाको राजनीति अन्त्य गर्न कांग्रेस प्रतिबद्ध : सभापति थापा
काठमाडौँ, २५ असार । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संवैधानिक निकाय र राज्यका विभिन्न तहमा हुने राजनीतिक भागबन्डाको अभ्यास अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसले अब कुनै पनि नियुक्तिमा भागबन्डा नगर्ने र त्यस्तो अपेक्षा पनि नराख्ने स्पष्ट पार्नुभयो।
उहाँले संवैधानिक निकायमा नियुक्ति गर्दा राजनीतिक भागबन्डाभन्दा योग्यता, कार्यक्षमता, निष्पक्षता र पारदर्शितालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
सभापति थापाले संवैधानिक परिषद्को वर्तमान संरचना र नियुक्ति प्रक्रियामाथि पुनर्विचार आवश्यक रहेको उल्लेख गर्दै न्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायका पदाधिकारी नियुक्तिको प्रणालीलाई समयानुकूल सुधार गर्नुपर्ने बताउनुभयो।
उहाँका अनुसार संविधान संशोधनका क्रममा कांग्रेसले यस्ता संस्थागत र संरचनागत सुधारका विषयलाई प्राथमिकतामा राख्नेछ। संवैधानिक निकायहरूलाई थप सक्षम, स्वतन्त्र र विश्वासयोग्य बनाउन नियुक्ति प्रक्रियामा सुधार अपरिहार्य रहेको उहाँको भनाइ थियो।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार










