पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिने निर्णय



काठमाडौँ । दुई दिनसम्म चलेको नेकपा एमाले केन्द्रीय कमिटी बैठक सकिएको छ।

मङ्गलबार मध्यरातसम्म चलेको बैठकमा विधान संशोधनलगायतका विविध विषयमा छलफल भएको छ ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अब एमालेको पार्टी सदस्यता दुई तहको हुने भएको छ । जसमा पार्टी सदस्यता र पार्टीको संगठित सदस्यता हुने छ ।

पार्टीका कमिटीहरू चुस्त, दुरुस्त र छरितो बनाउन केन्द्रीय कमिटीका पदाधिकारी सङ्ख्या १५ जना, पोलिटब्युरो केन्द्रीय कमिटीको एकतिहाइ हुने र केन्द्रीय कमिटी २५१ सदस्सीय हुने प्रस्ताव अघि बढाउने निर्णय भएको छ ।

यसैगरी पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता र सक्रिय राजनीतिका विषयमा पनि छलफल भएको छ । बैठकले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन नदिने निर्णय गरेको छ ।

यसमा सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र कर्ण थापालगायतले असहमति जनाएको गौतमले जानकारी दिए ।

यस्तै पार्टीमा ७० वर्षको उमेर हद र दुई कार्यकालको सीमा हटाउने प्रस्ताव विधान महाधिवेशनमा लैजाने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति: ७ श्रावण २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्