निरोगी नागरिक, समृद्ध राष्ट्रको आधार



प्रा. डा. भुपेन्द्रकुमार बस्नेत
उपकुलपति, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
नागरिकको स्वास्थ्य राष्ट्रको मेरुदण्ड हो । एउटा व्यक्ति स्वस्थ भएमात्र उसले उत्पादन गर्न सक्छ, आफ्नो कर्तव्य निर्वाह गर्न सक्छ र राष्ट्र निर्माणमा योगदान दिन सक्छ । त्यसैले नागरिकलाई निरोगी बनाउनु भनेकोे समृद्ध राष्ट्रको आधार निर्माण गर्नु हो । नेपालको वर्तमान सन्दर्भलाई हेर्ने हो भने हाम्रो स्वास्थ्य प्रणालीले नागरिकलाई गुणस्तरीय, सर्वसुलभ र सस्तो स्वास्थ्य सेवा दिन सकिरहेको छैन भन्ने कटु सत्य हामी सबैले आत्मसात गर्नै पर्छ ।

नेपालको संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हकको रूपमा सुनिश्चित गरे पनि त्यो हक कार्यान्वयन गर्ने संरचना र नीतिहरूमा कमजोरी देखिएको छ । सरकारी स्वास्थ्य संस्थाहरूका पूर्वाधार कमजोर छन्, जनशक्ति अपुग छ, उपकरणहरूको अभाव छ ।

यही कारण नागरिक महँगो स्वास्थ्य सेवा लिन बाध्य छन् । अहिलेको स्वास्थ्य प्रणालीमा सबैभन्दा ठूलो समस्या सेवा पहुँचको असमानता हो । केन्द्रमा ठूला अस्पतालहरू थुप्रिएका छन् भने ग्रामीण भेगमा प्राथमिक उपचारको व्यवस्थासमेत अभावग्रस्त छ ।

वर्तमान अवस्था
विगत २५ वर्षको अवधिमा स्वास्थ्य क्षेत्रमा थुप्रै परिवर्तन र प्रगति भएका छन् । नयाँ प्रविधिहरू भित्रिएका छन्, मेडिकल शिक्षा निकै विस्तार भएको छ । मेडिकल कलो २४ वटा सञ्चालन भइरहेका छन् । दक्ष जनशक्ति उत्पादन भएको छ ।

कतिपय अझै बन्नेक्रममा छन् । हरेक प्रदेशमा प्रादेशिक अस्पताल, जिल्ला अस्पताल र अहिले स्थानीय तहमा कम्तीमा १५ बेडको अस्पताल बनाउने नीतिअनुसार सबै स्थानीय तहमा पुगेको छ । अस्पताल नपुगेका दुर्गमका स्थानीय तहहरूमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । धेरै वडामा स्वास्थ्य चौकीहरू सञ्चालनमा छन् । अहिले देशभर ३ हजार ७ सय ७८ स्वास्थ्य चौकी छन् ।

स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको पनि ठूलो लगानी छ । ‘नेपाल हेल्थ फ्याक्ट सिट २०२३’ का अनुसार देशमा २ हजार ५५१ निजी अस्पताल सञ्चालनमा छन् । यो थपिनेक्रम जारी छ । यस्तै सामुदायिक अस्पतालको सङ्ख्या २ सयभन्दा बढी पुगेको छ । कतिपय प्रदेश सरकारहरूले पनि स्वास्थ्य परीक्षण प्रयोगशालाहरू स्थापना गरेका छन् ।

अस्पतालको स्तारोन्तिका लागि बजेट छुट्याएका छन् । त्यसैगरी डाक्टरको सङ्ख्या ३५ हजारभन्दा माथि पुगेको छ । मेडिकल काउन्सिलबाट ३० हजारभन्दा बढीले एमबीबीएस र ५ हजारभन्दा बढी बीडीएसको लाइसेन्स लिएका छन् ।

समस्या तथा चूनौतीहरू
२५ वर्षदेखि म स्वास्थ्य क्षेत्रमा संलग्न छु । यस अवधिमा उल्लेखनीय परिवर्तन आएको अनुभव गरेको छु । प्रविधिको विकाससँगै नेपालमा पनि नयाँ प्रविधिहरू भित्रिएका छन् । ती प्रविधि सर्वसाधारण नागरिकसम्म पु¥याउन सरकारले पर्याप्त तयारी गर्न सकेको छैन । त्यसैले अझै नागरिकले गुणस्तरीय र सर्वसुलभ सेवा प्राप्त गर्न सकेका छैनन् ।

जनशक्तिको योजनाबद्ध व्यवस्थापन, दरबन्दी सिर्जना र सही ठाउँमा पठाउने संयन्त्र अझै कमजोर छ । हामीले उत्पादन गरेका विशेषज्ञहरू विदेश पलायन भइरहेका छन् । जसको कारण हामीले लगानी गरेर उत्पादन गरेको ज्ञान र श्रम बाहिरिएर विदेशीलाई सेवा दिन पुगेको अवस्था छ ।

स्वास्थ्य संस्थाहरूको पुनःसंरचना आवश्यक छ । स्वास्थ्य पूर्वाधारको योजना बनाउँदा राजनीतिक सीमाङ्कनअनुसार होइन, जनघनत्व र भूगोलको आधारमा बनाइनु पर्नेमा त्यो हुन सकेको छैन । कुन क्षेत्रको क्याचमेन्ट एरिया कति हो ? कुन ठाउँमा कस्तो स्तरको स्वास्थ्य संस्था चाहिन्छ ? यो वैज्ञानिक मापदण्डका आधारमा निर्धारण गरिएको पाइँदैन ।

स्वास्थ्य बीमा प्रणाली पनि अझै प्रभावकारी बन्न सकेको छैन । बीमामा समेटिएका नागरिकले पनि सेवा पाउन सकेका छैनन् । बीमा रकम सीमित छ । प्रक्रिया पनि सहज छैन । साथै सेवा प्रदायकसँग समन्वय कमजोर छ ।

सुधारका उपायहरू
पुनःमूल्याङ्कनः नेपालको स्वास्थ्य प्रणाली सुधार गर्नका लागि हालको संरचनालाई पुनःमूल्याङ्कन ९चझबउउष्लन० गर्नु अत्यावश्यक छ । अहिलेको जस्तो राजनीतिक आधारमा बनेको संरचनाले स्वास्थ्य सेवा प्रभावकारी बनाउँदैन । जनघनत्व, भौगोलिक पहुँच र आवश्यकताअनुसार स्वास्थ्य सेवा केन्द्रित हुनुपर्छ ।

जस्तैः कुन ठाउँमा कति जनसङ्ख्या बसोबास गर्छ ? ती ठाउँको भौगोलिक बनावट कस्तो छ ? सडकलगायत अन्य पूर्वाधार कस्ता छन् ? यी कुराको आधारमा स्वास्थ्य केन्द्रको स्तर निर्धारण गरी प्राथमिक, मझौला र विशिष्ट स्तरका सेवाको सञ्जाल बनाउनुपर्छ ।

भवन मात्र बनाउने होइन, आवश्यक जनशक्ति, उपकरण, प्रविधि र औषधिसहितको सेवा उपलब्ध गराउनु नै साँचो अस्पताल निर्माण हो । अहिले जस्तो ५० किलोमिटरभित्र दर्जनौं अस्पताल खोलिएको छ तर उपकरण छैन, दक्ष जनशक्ति छैन भन्ने अवस्थाले कुनै समाधान दिँदैन । त्यहाँ योग्य जनशक्ति, आवश्यक उपकरण र सेवा दिने संयन्त्रको समुचित व्यवस्थापन आवश्यक छ । त्यसैमा भरपर्दो स्वास्थ्य सेवा सम्भव छ ।

स्वास्थ्य बीमा र पहुँच : स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन स्वास्थ्य बीमा प्रणाली सुधार गर्नु अत्यन्त जरुरी छ । अहिलेको बीमा कार्यक्रमले केही राहत त दिएको छ, तर अपेक्षित प्रभाव पार्न सकेको छैन । बीमामार्फत सबै नागरिकलाई कम लागतमा सेवा दिन सक्ने संयन्त्र बनाउनु आवश्यक छ ।

जनशक्ति उत्पादन र व्यवस्थापन : पछिल्ला १५–२० वर्षमा नेपालमा स्वस्थ जनशक्ति उत्पादनमा ठूलो परिर्वतन आएको छ । एक समय थियो, जब स्वस्थ जनशक्ति तयार गर्ने संस्था गन्तीका मात्र थिए । अहिले धेरै मेडिकल कलेज खुलेका छन्, जहाँ स्नातकदेखि स्नातकोत्तर र विशेषज्ञ तहसम्मको अध्ययन हुन्छ ।

तर समस्या जनशक्ति उत्पादनमा होइन, व्यवस्थापनमा छ । सरकारले आवश्यक दरबन्दी सिर्जना गर्न नसकेको र जनशक्तिलाई उपयुक्त ठाउँमा खटाउन नसक्दा दक्ष जनशक्ति पलायन भइरहेको छ । छात्रवृत्तिमा पढेका दक्ष जनशक्ति विदेशमा सेवा दिइरहेका छन्, जुन राष्ट्रको लागि घाटा हो ।

अनुसन्धान र प्रविधि : स्वास्थ्य अनुसन्धानमा नेपालले केही प्रगति त गरेको छ, तर ठूलो लगानी नहुँदा अपेक्षित अनुसन्धान हुन सकेको छैन । अनुसन्धान महँगो प्रक्रिया हो, उपकरण, जनशक्ति र बीमा सबैमा खर्च लाग्छ । तर पनि केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यमा अनुसन्धान भइरहेका छन् ।

साथै प्रविधिको विकासमा ध्यान नदिँदा गुणस्तर सेवा दिन कठिन भइरहेको छ । प्रविधिको अभावले गर्दा कतिपय अवस्थामा रोग पहिचानमा ढिलाइ हुन्छ । उपचार सफलता हुँदैन र बिरामी विदेश जान बाध्य हुन्छन् । यसबाट ठूलो मात्रामा रकम बाहिरिँदैछ ।

बजेटको उचित व्यवस्थापन : सरकारले स्वास्थ्य क्षेत्रका लागि आवश्यक बजेट विनियोजन गर्न सकेको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार देशहरूले कुल बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रका लागि छुट्याउनु पर्दछ । तर हामीकहाँ स्वास्थ्यको बजेट ४ देखि ५ प्रतिशतमात्रै छ ।

स्वास्थ्यका लागि पर्याप्त बजेट व्यवस्थापन गर्ने हो भने कम भएको जनशक्ति थप्ने, जनशक्तिलाई दक्ष बनाउन तालिम दिने र अत्याधुनिक स्वास्थ्य सामग्री खरिद गरी सेवालाई गुणस्तरीय बनाउन सकिन्छ ।

स्वास्थ्यकर्मीको सुरक्षा : स्वास्थ्य क्षेत्रमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीले कार्यक्षेत्रमा आफूलाई सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नुपर्दछ । सरकारले जारी गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६’ को प्रभावकारी कार्यान्वयन गरी स्वास्थ्यकर्मीले निर्धक्कसाथ काम गर्ने वातावरणको सिर्जना गर्नुपर्छ ।

स्वास्थ्यकर्मीले असुरक्षाको महसुस गर्दा स्वास्थ्य सेवामा गुणस्तर आउँदैन । सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई आर्थिक, सामाजिक तथा पेशागत सुरक्षाको प्रत्याभूति महसुस गराउने भूमिका राज्यको हो ।

रोग नियन्त्रणभन्दा उपचारमा मात्र केन्द्रित सोच : हामीकहाँ रोग लाग्न नदिने भन्दा रोग लागिसकेपछि उपचार गर्ने प्रवृत्ति बढ्दो छ । यसले एकातर्फ उत्पादकत्व घटाएको छ भने अर्कातर्फ उपचारमा राज्यको भार बढ्दो छ । त्यसैले रोग नियन्त्रणका लागि स्वास्थ्य जनचेतना जगाउनु आवश्यक छ । नागरिकलाई रोग लाग्नबाट बच्ने उपायहरूका विषयमा व्यापक जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नु पर्दछ ।

सम्भावनाहरू
स्वास्थ्य पर्यटनः
नेपालमा स्वास्थ्य पर्यटनको सम्भावना छ । भारतका सीमावर्ती क्षेत्रहरूबाट र अन्य देशका नागरिक सस्तो र गुणस्तरीय सेवाका लागि नेपाल भित्र्याउन सकिन्छ । यसका लागि स्वास्थ्य संस्थाको पुनः मूल्याङ्कन गरी नयाँ प्रविधिहरू भित्र्याउने र तिनलाई प्रयोग गर्न योग्य जनशक्ति विकास गरी गुणस्तरीय स्वास्थ्य प्रदान गर्ने हो भने छिमेकी मुलुकबाट स्वास्थ्य उपचारका लागि आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन्छ ।

औषधि निर्यातमा जोड : फार्मास्युटिकल क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ । अहिले देशको ४०/५० प्रतिशत माग नेपाली उत्पादनले धानिरहेको छ । यदि इन्जेक्टेवल औषधि र निर्यातयोग्य औषधिमा लगानी बढाउने हो भने यस क्षेत्रले ठूलो आर्थिक योगदान दिन सक्छ । यसका लागि औषधि उद्योगमा लगानी र अनुसन्धानका लागि राज्यले उपयुक्त वातावरण निर्माण गर्नु पर्दछ । साथै निजी क्षेत्रलाई आकर्षित गर्न नीति र लगानी अनुकूल वातावरण बनाउनु जरुरी छ ।

स्वास्थ्य शिक्षा : नेपालमा स्वास्थ्य शिक्षामा पनि ठूलो प्रगति भएको छ । अहिले नेपालमै डीएम र एमसीएच तहसम्मको अध्ययन हुन थालेको छ । पछिल्ला २५ वर्षमा मेडिकल कलेजको सङ्ख्या २४ पुगेको छ । नेपालको स्वास्थ्य शिक्षा गुणस्तरीय मानिन्छ । यहाँ उत्पादित विद्यार्थी विश्वका विकसित राष्ट्रहरूमा गएर काम गरिरहेका छन् । राम्रो कार्यसम्पादन गरिरहेका छन् । त्यसैले यहाँका मेडिकल कलेजमा विदेशी विद्यार्थीको सङ्ख्या बढाउन सकियो भने देशले आर्थिक रुपमा फाइदा लिन सक्छ ।

अन्त्यमा,
अब हामीले उपचारमा मात्र होइन, रोग लाग्नै नदिने उपाय प्रिवेन्टिभ मेडिसिनमा ध्यान दिनु आवश्यक छ । खानपान, जीवनशैली, वातावरणीय प्रदूषण र नशालु पदार्थको प्रयोगका कारण थुप्रै रोगहरू जन्मिन्छन् । यस्ता रोगहरू शिक्षा, चेतना र सही नीतिमार्फत नियन्त्रण गर्न सकिन्छ ।

यसका लागि समुदाय स्तरमै स्वास्थ्य शिक्षा, नियमित स्क्रिनिङ, सरसफाइ र वातावरण संरक्षणजस्ता कार्यक्रम चलाउनु पर्छ । रोग लागिसकेपछि उपचारमात्र नभई पुनःस्थापना र दीर्घकालीन रेखदेखका संरचना पनि तयार पारिनुपर्छ । स्वास्थ्य सेवा भनेको उपचारमात्र होइन, समग्र जीवनशैली सुधारको प्रक्रिया हो । त्यसैले स्वास्थ्यमा गरिने लगानी खर्च होइन, दीर्घकालीन उत्पादनशीलता बढाउने महत्वपूर्ण आधार हो ।

नागरिक निरोगी भयो भनेमात्रै ऊ कार्यालय, उद्योग, खेत वा अन्य क्षेत्रमा काम गर्नसक्छ । बिरामी नागरिकले राष्ट्रलाई बोझमात्र थप्छ । त्यसैले समृद्ध नेपालको सपना साकार पार्न, सर्वसुलभ, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा निर्माण अपरिहार्य छ ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्