चिकित्सक अभावले जिल्ला अस्पताल सल्यानमा फेरि शल्यक्रिया सेवा बन्द
सल्यान, २८ असार । चिकित्सक अभावका कारण जिल्ला अस्पताल सल्यानमा फेरि शल्यक्रिया सेवा बन्द भएको छ।
कर्णाली प्रदेश सरकारअन्तर्गत सञ्चालित अस्पतालमा एनआईएस कार्यक्रमअन्तर्गत दुई महिनाका लागि खटिएका एमडिजिपी डा. रहिस कोजु र मेडिकल अधिकृत डा. सुमन यादवको कार्यअवधि सकिएपछि शनिबारदेखि शल्यक्रिया सेवा पूर्ण रूपमा बन्द भएको हो।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुनकुमार बुढाले शल्यक्रिया सेवा बन्द भएपछि जिल्लामै न्यून शुल्कमा उपचार पाउँदै आएका बिरामी दाङ, नेपालगञ्ज र सुर्खेतका अस्पताल धाउन बाध्य भएको बताएका छन्।
उनका अनुसार विशेषगरी जटिल अवस्थाका गर्भवती महिलाले दुईदेखि तीन घण्टासम्म एम्बुलेन्स वा अन्य सवारीसाधनमार्फत यात्रा गर्नुपर्ने भएकाले थप जोखिम र सास्ती बेहोर्नुपरेको छ।
जिल्ला अस्पताल सल्यानमा करिब डेढ दशकअघि जटिल अवस्थाका गर्भवती महिलालाई लक्षित गर्दै शल्यक्रिया सेवा सुरु गरिएको थियो। सेवा बन्द भएसँगै जिल्लाका आधारभूत अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीबाट रिफर भएर आउने बिरामी सबैभन्दा बढी प्रभावित भएका छन्। ग्रामीण क्षेत्रबाट ठूलो खर्च गरेर जिल्ला अस्पताल पुगेका बिरामीले उपचार नपाई पुनः बाहिरी जिल्लामा जानुपर्दा आर्थिक र मानसिक भार थपिएको अस्पतालले जनाएको छ।
“पहिले पनि शल्यक्रिया सेवा बन्द भएपछि दुई महिनाका लागि एक जना एमडिजिपी र एक जना मेडिकल अधिकृत पठाइएको थियो। उहाँहरूको कार्यअवधि सकिएपछि शनिबारदेखि फेरि शल्यक्रिया सेवा बन्द भएको हो,” डा. बुढाले बताएका छन्।
उनका अनुसार सेवा पुनः सञ्चालनका लागि सङ्घीय सरकार र कर्णाली प्रदेश सरकारसँग आवश्यक विशेषज्ञ चिकित्सक पठाइदिन आग्रह गरिएको छ।
“जिल्ला अस्पताल सल्यानमा प्रत्येक महिना एक सयभन्दा बढी महिला सुत्केरी हुने गर्छन्। तीमध्ये करिब १० देखि १२ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था हुन्छ। अस्पतालमै सेवा उपलब्ध होस् भन्ने हाम्रो चाहना हो, तर दक्ष चिकित्सक नहुँदा बिरामीलाई बाहिरी अस्पतालमा रिफर गर्न बाध्य भएका छौँ,” उनले बताएका छन्।
डा. बुढाका अनुसार दक्ष जनशक्तिको अभावका कारण जिल्ला अस्पतालमा बेला–बेलामा अत्यावश्यक स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ।
वि.सं. २०४४ मा स्थापना भएको जिल्ला अस्पताल सल्यान १५ शय्याको स्वीकृत दरबन्दी भए पनि हाल ४० भन्दा बढी शय्या सञ्चालन गरी मातृ तथा शिशु स्वास्थ्य, आकस्मिक सेवा, प्रसूति सेवा, प्रयोगशाला तथा अन्य आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। तर विशेषज्ञ चिकित्सकको अभावका कारण शल्यक्रियाजस्तो अत्यावश्यक सेवा निरन्तर सञ्चालन गर्न समस्या भइरहेको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: २८ असार २०८३, आइतबार










