आर्थिक समृद्धि दिने ऊर्जा



हितेन्द्रदेव शाक्य
कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण
हिउँदको समयमा हामीकहाँ ३ हजार ५ सय मेगावाट उत्पादन क्षमता भए पनि १ हजार २ सय मेघावाटमात्र उत्पादन भइरहेको छ । सात आठ सय मेगावाट भारतबाट ल्याउनु पर्ने बाध्यता छ । अनि त्यो ७/८ सय मेगावाटचाहिँ सोलार आवर अर्थात् बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म आयात गर्दै आएको छ ।

घाम लाग्ने समयमा मात्र पुग्छ । बेलुका ५/६ बजे घाम अस्ताएपछि जाडो महिनामा उद्योगहरूलाई बन्द गराउनु पथ्र्यो । किनभने हामीलाई बिजुली पुग्दैन । भारतले बेलुकीको समयमा बिजुली दिँदैन । त्यस्तैगरी वर्षात्को समयमा विद्युत् खपत २५/२६ सय पुग्छ तर राति फेरि घटेर उही १५/१६ सयमा झर्छ । त्यसो हुँदा राति हामीलाई बिजुली बढी हुन्छ ।

बिहान, बेलुका र दिउँसो ठीकै हुन्छ । त्यसरी बढी हुने बिजुलीलाई स्टोर गर्न सके एकै नासले भारतमा बिक्री गर्न सकिन्थ्यो । यस्तो २४ घण्टा एकनासे बिजुली बेच्दा उच्च मूल्य पाइन्छ ।

यी दुईवटै परिदृश्यलाई हेर्दा के प्रष्ट हुन्छ भने ऊर्जा भण्डारण गर्नुपर्छ । छोटो समयको लागि बढीमा ५/६ घण्टामात्र पनि भण्डारण गर्न सकियो भने यसले हाम्रो अर्थतन्त्रमा टेवा पु¥याउँछ ।

विद्युत् भण्डारणबाट समृद्धि
विद्युत्को अहिलेको समस्या समाधान गर्दै विद्युत्मार्फत अर्थतन्त्रमा योगदान पु¥याउन भण्डारण आवश्यक छ । यसका लागि जलाशययुक्त आयोजनाहरू निर्माणमा जोड दिनुपर्दछ । त्यसले विद्युत् निर्यात र देशमै उद्योगधन्दालाई आकर्षित गर्न सकिन्छ । जसका लागि निम्न प्रयास भइरहेका छन्ः

जलाशययुक्त आयोजना निर्माण : हामीलाई जलाशययुक्त आयोजना बनाउन १० देखि १५ वर्ष लागिराखेको अहिलेको अनुभव छ । बूढीगण्डकी अहिलेसम्म बनाउन सकिएको छैन । तनहुँसेती १४/१५ वर्ष भइसक्यो । जलाशययुक्त आयोजना समय धेरै लाग्ने हुन्छ । हामीले प्रयास त गरिरहेका छौँ ।

दुधकोशी बनिरहेको छ । यो बनिसक्दा ६/७ सय मेगावाट प्राप्त हुन्छ । त्यो बन्दै गर्दा अन्य कम स्टोरेज प्रोजेक्टहरू दुई गुणा बढी देशभरि बनाउन सकिन्छ । जलाशययुक्त परियोजनाहरूले ब्याट्रीको काम गर्छ । अब ३५ सय मेगावाटबाट हामी पाँच वर्षमा १० हजार मेगावाट पुग्दा जाडो महिनामा २ हजार ५ सयमात्र आउँछ ।

अनि गर्मी महिनामा १० हजार हुन्छ । जलाशययुक्त आयोजनामार्फत जाडो महिनामा जति हाम्रो लोड छ त्यो पूरा गर्छौं । दिउँसो घामको बिजुली प्रयोग गरेर माथि पठाउँछौं र बेलुका चाहिँ पानीबाट हाइड्रो रन अफ रिभरको प्लेट प्रयोग गरेर माथि पठाउँछौं ।

बिहान र बेलुकाको समयमा पानी तल झारेर बिजुली निकाल्छौँ । त्यसरी जाडो महिनाको समस्या समाधान भइरहेको छ ।

एकनासले निर्यात : गर्मी महिनामा चौबीसै घण्टा एकनासले बिजुली निर्यात गर्न अग्रसर छौँ । एउटा कन्स्यान्ट बिजुली भारतलाई दिन सक्दा उसले हाम्रो बिजुली किन्छ । अहिले हामी जसरी बङ्गलादेशमा बिजुली पठाउँदा प्रतियुनिट ८ रुपैयाँ ८० पैसा पाइराखिएको छ ।

यसले २४ सै घण्टा बिजुली पाउँछ । त्यही बिजुली हामीले भारतमा बेच्दा दिउँसो एक/डेढ रुपैयाँ अनि राति ८/९ रुपैयाँ पाउने अवस्था छ । भारतमा बढ्ता हुँदा दिने नहुँदा नदिने बिजुली सस्तो उसिना चामलको भाउमा बेच्नुपर्छ तर जब हामी २४ सै घण्टा दिन्छौँ । त्यो मसिना चामलको भाउमा बेच्छौँ । जसरी अहिले बङ्गलादेशलाई मसिना चामलको भाउमा बेचिरहेका छौँ । त्यो उसिनालाई मसिनोमा परिवर्तन गर्ने पम्प स्टोरेज पम्प जलाशय आयोजना र ब्याट्री आयोजना ल्यायो भने यसले ऊर्जा सुरक्षा र ऊर्जा सन्तुलन गर्छ ।

उद्योगधन्दा आकर्षित गर्ने : जलाशययुक्त आयोजना सञ्चालन गर्ने हो भने त्यसको फाइदा धेरै छ । हाम्रो प्रणालीमा कुनै समस्या आयो भने त्यो पम्प स्टोरेजबाट बिजुली निकाल्ने अन्यत्र बन्द हुँदाखेरि त्यसबाट निकाल्ने अन्यत्र बढी हुँदा त्यसभित्र हाल्ने गर्न सकिन्छ । त्यसले गाडीको सकपले जस्तो काम गर्छ ।

जसरी गाडी खाल्डोमा पर्दा उफ्रिँदा सकपले स्मुथ चलाउन सक्छ त्यसैगरी पम्प आयोजनाले बिजुली स्मुथ बनाउँछ । बिजुली चौबीसै घण्टा उद्योगधन्दाले पाउने भएपछि राम्रो बिजुली चाहिने उद्योगहरू पनि नेपाल आउँछन् । ठूलठूला उद्योगहरू जसलाई एकदम राम्रो क्वालिटीको बिजुली चाहिन्छ तिनीहरू नेपालमा आउँछन् ।

अहिले डिजल जेनेरेटरबाट चलिरहेका उद्योगहरूलाई विश्वसनीय र उच्च गुणस्तरको बिजुली दियौँ भने उच्च मूल्य तिर्न सक्ने उद्योगहरू नेपाल आउँछन् । डेटा सेन्टरहरू नेपाल स्थापना हुनसक्छन् । त्यस्तै उच्च गुणस्तरको बिजुली चाहिने ग्राफिन, सिलिकनजस्ता उद्योग यहाँ आउन सक्छ । त्यसले नेपालको उद्योग र अर्थतन्त्रलाई फड्को मार्न सहयोग पुग्छ । हाम्रा होटेल व्यवसायहरू त छँदैछन् ।

ऊर्जा खपतमा जोड : ऊर्जा खपत बढाउन यसलाई विश्वसनीय र सस्तो बनाउनु आवश्यक छ । जब उच्च भ्यालुका उद्योगहरू थपिन्छन् त्यसले ऊर्जा खपत बढाउँछ । ऊर्जाको खपत बढेपछि उद्योगको लागत घट्न थाल्छ । उद्योग चलाउन डिजेल जेनेरेटर अथवा अरु उपायहरू गरिराखेका हुन्थ्यो । त्यसले उत्पादन लागत बढी हुन्थ्यो ।

अब विश्वास नै बिजुली भएपछि त्यो लागतहरू घट्छ । लागत कम पर्ने भएपछि उद्योगको सङ्ख्यासँगै विद्युत् खपत पनि बढ्छ । लागत घटेपछि कम्पनीबीच प्रतिस्पर्धा हुन्छ । बजारमा प्रतिस्पर्धा बढाउँछ । यसले देशको समृद्धिमा प्रत्यक्ष योगदान दिन्छ । त्यसैले अहिले हाम्रो जोड नै ऊर्जाको खपत बढाउनेमा छ ।

ऊर्जा खपत बढ्दै गएपछि बिजुली उत्पादन पनि बढ्दै जान्छ र उत्पादन खर्च लागत पनि कम हुन्छ । केही वर्षमा हाम्रो जलविद्युत्को लागत निरन्तर कम हुँदै जान्छ । बनिसकेका ३ हजार ५ सय मेगावाट बिजुलीको लागत कम पर्दै जान्छ ।

दुईचार वर्षमा हाम्रो बिजुली भारतीय बजारको भन्दा सस्तो हुनसक्छ । त्यस्तो अवस्थामा उद्योगहरू अझ वृद्धि हुँदै जान्छ र खपत पनि बढ्दै जान्छ ।

निजी क्षेत्रसँग सहकार्य : विद्युत् उत्पादन बढाउन प्राधिकरण र सरकारले सधैं सहकार्य गरिरहेको छ । निजी क्षेत्रलाई हामीले स्वागत गरिरहेका छौँ । उत्पादनसँगै अब हामी प्रसारणको क्षेत्रमा पनि निजी क्षेत्रलाई स्वागत गर्दैछौँ ।

सहकार्य गरेर प्रसारण प्रणालीलाई सुदृढ बनाउने प्रयासमा नेपाल विद्युत् प्राधिकरण लागेको छ । प्रसारण प्रणालीमा प्रशस्त लगानी गर्नुपर्ने छ । यसका लागि सरकारले मात्र गरेर नपुग्ने अवस्था छ । त्यसैले निजी क्षेत्रसँग सहकार्य नगरी अब विस्तार गर्न सकिँदैन ।

यो प्रष्ट भएकाले निजी क्षेत्रको सहभागिताका लागि अहिले नियम कानुन पनि बनिरहेका छन् । ती पूरा भएपछि हामी निजी क्षेत्रलाई सहकार्यका लागि आह्वान गर्दर्छौँ । अनि विस्तार र अहिले भइरहेको प्रसारण संरचनालाई सहज बनाइन्छ ।

यसका लागि नेपाल सरकारले नियम बनाएर कार्यान्वयनका लागि हामीलाई जति चाडो दिन्छ, त्यतिनै छिटो यसलाई सहज बनाउन सकिन्छ । नियम कानुन बनाउने र हामीले चाहिँ ओपन एक्सेस र निष्पक्ष पहुँचको व्यवस्था गरिदिने हो भने निजी क्षेत्र त्यसमा आउन सहमत हुन्छ ।

अन्त्यमा,
अहिले सम्पूर्ण ध्यान बिजुलीलाई विश्वसनीय बनाउने, बिजुलीको बिक्री दर उसिना चामलबाट मसिना चामलसरह बनाउने, जाडो महिनामा ऊर्जा सुरक्षालाई व्यवस्थित गर्ने ऊर्जा सन्तुलन र ऊर्जा सुरक्षाको व्यवस्था गर्ने र समग्रमा उच्च मूल्यका उद्योगहरूलाई नेपाल ल्याएर अर्थतन्त्रलाई समृद्ध बनाउनेमा हामी केन्द्रित छौँ ।

यसका लागि ऊर्जा भण्डारण, जलाशययुक्त आयोजना, निजी लगानी र विद्युत्को गुणस्तर सुधार गरेमात्र सम्भाव छ । यो रणनीतिले उद्योगको लागत घटाउने, ऊर्जा सुरक्षालाई बढाउने र समग्र अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने विश्वास गर्न सकिन्छ ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्