‘माग्ने राजा’को ‘सुतेर उठेको पैसामा’ गीतको चर्चा, कस्तो गर्ला व्यवसाय ?



काठमाडौँ । नेपाली फिल्मलाई व्यावसायिक सफलता दिलाउन गीतसङ्गीतले ठुलो भूमिका खेल्ने गरेको छ । गीतकै कारण कतिपय फिल्म सफल भएका छन् । उदाहरणको रूपमा फिल्म खुस्मा र छक्कापन्जा सिरिजलाई हेर्न सकिन्छ ।

पछिल्लो समय फिल्म ‘माग्ने राजा’को गीत ‘सुतेर उठेको पैसामा’ चर्चामा छ । ६ दिन अघि सार्वजनिक गीत अहिले सामाजिक प्लेटफम टिकटकमा भाइरल छ । यो गीतमा टिकटक भिडियो बनाउनेको संख्या दिन प्रतिदिन बढ्दो छ ।

६ दिनमा गीतलाई युट्युबमा २१ लाखभन्दा बढीले हेरिसकेका छन् । रिलिजको २ दिनसम्म औसत भिउज रहेको गीत टिकटकमा भाइरल बनेपछि उकालो लागेको हो । गीत दर्शकले रुचाएसँगै फिल्मको चर्चा पनि चुलिएको छ । गीतले फिल्मको व्यापारमा समेत फाइदा पुग्ने अनुमान गरिएको छ ।

ऋषि लामिछानेको निर्देशन रहेको फिल्म ‘माग्ने राजा’ आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ । मुनाल घिमिरेको निर्माणमा रहेको फिल्ममा केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङदेल, शारदा गिरी, राधिका कँडेल लगायतको अभिनय छ ।

सामीप्यराज तिमल्सेनाको लेखन रहेको फिल्ममा नरेन्द्र मैनालीको डीओपी तथा मित्र गुरुङको सम्पादन छ ।

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्