खेलकुदलाई यसरी समृद्धिसँग जोड्न सकिन्छ
रोहित दाहाल
मानिसकोे शारीरिक तथा मानसिक सक्रियता बढाउने भएकाले हरेकका लागि खेलकुद आवश्यक हुन्छ । खेलकुद यस्तो गतिविधि हो, जसले प्रतिस्पर्धा, मनोरञ्जनसँगै स्वास्थ्य सुधारमा समेत योगदान पु¥याउँछ । यतिमात्र होइन, खेलकुदले सहकार्य गर्न सिकाउँछ भने व्यक्तिगत अनुशासन कायम गर्न पनि सहयोग गर्छ ।
खेलकुद व्यक्तिका लागि मात्रै होइन, समाज र राष्ट्रका लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छ । अहिले मानिसहरूमा देखा पर्न थालेका विभिन्न शारीरिक समस्यालाई खेलकुदकै माध्यमबाट कम गराउन सकिन्छ । नियमित व्यायामले मांसपेशी बलियो बनाउने, तौल नियन्त्रण गर्ने तथा नसर्ने रोगहरूको जोखिम घटाउने तथ्यलाई मेडिकल विज्ञानले पुष्टि गरेको छ ।
खेलकुदले तनाव कम गर्ने, कुनै पनि विषयमा दत्तचित्त भएर ध्यान केन्द्रित गर्ने तथा आत्मविश्वास बढाउने त गर्छ नै प्रतिस्पर्धात्मक मनोविज्ञानले व्यक्तिलाई लक्ष्य निर्धारण गर्न, संघर्ष गर्न अनि सफलता प्राप्त गर्न प्रेरित गर्छ । समूहमा खेलिने खेलहरूका माध्यमबाट सहकार्य, लिडरशिप तथा समन्वय गर्न सक्ने क्षमताको विकास गराउँछ भने नयाँ मित्रता र सम्बन्धहरू स्थापित गर्न सकिन्छ ।
खेलकुदले देशको अन्तर्राष्ट्रिय पहिचान त उँचो बनाउँछ नै खेल पर्यटन, व्यवसाय तथा रोजगारी सिर्जनामा सघाउ पु¥याउन सक्छ । विश्वका धेरै देशले अहिले खेलकुदको माध्यमबाट यस्ता तरक्की गर्न थालेका छन् । खेलकुदलाई केबल मनोरञ्जन वा प्रतिस्पर्धाका आधारमा मात्र हेरिनु हुँदैन । यसको लाभ व्यक्तिगत स्तरमा मात्र सीमित छैन ।
खेलकुदले राष्ट्रको पहिचान, अर्थतन्त्र तथा समाज सुधारमा पनि उल्लेख्य योगदान पु¥याउनेतर्फ सोच्नुपर्छ । बहुआयामिक फाइदा रहेको यो क्षेत्रको विकास र प्रवद्र्धनमा भने हामीले खासै महत्व दिएका छैनौं । त्यसैले खेलकुदको विकासका लागि नीतिगत र सामुदायिक समन्वयात्मक प्रयास गर्नुपर्ने बेला आएको छ ।
सांस्कृतिक मान्यताबाट अभिजातको शौखका रुपमा रहेको खेलकुद
नेपालमा खेलकुदको इतिहास सांस्कृतिक र सामाजिक मान्यताका आधारमा अघि बढेको देखिन्छ । धनुष बाण, कुस्ती, दौड र घोडसवारी प्राचीन कालमा नेपाली समाजका लोकप्रिय खेल थिए । ती खेलहरू मेला, उत्सव र धार्मिक अवसरहरूमा आयोजना हुन्थे । मल्लकाल र लिच्छविकालमा खेलकुदलाई शारीरिक तन्दुरुस्ती र सैन्य तालिमको हिस्साको रूपमा लिइन्थ्यो ।
धनुर्विद्या र कुस्तीले योद्धाहरूलाई प्रशिक्षित गरिन्थ्यो । त्यतिबेला स्थानीय समाजमा विभिन्न समुदायले आ–आफ्नै खेलहरू खेल्ने गरेका थिए, जस्तै नेवार समुदायमा ‘दौड’ र ‘खड्ग खेल’ खेलिन्थ्यो भने पहाडी क्षेत्रमा याक र घोडासँग सम्बन्धित खेलकुदका प्रतियोगिताहरू हुन्थे । त्यतिबेलाको समाजलाई समृद्ध बनाउन ती खेलले महत्वपूर्ण भूमिका खेलेका थिए ।
राणाशासन कालमा भने केही खेल शौखका लागि खेलिन थालियो । ब्रिटिस प्रभावले फुटबल, क्रिकेट, टेनिसजस्ता आधुनिक खेल नेपाल भित्रिए । तर यी खेलहरू विशेषगरी राणा परिवार र अभिजात वर्गमा मात्रै सीमित थिए । नेपालको खेलकुद इतिहास परम्परागत खेलदेखि आधुनिक अन्तर्राष्ट्रिय प्रतियोगितासम्मको यात्रा हो ।
अभिजात वर्गबाट व्यावसायिकतातर्फ
राणा शासनको अन्त्यतिर वि.सं. २००४ सालमा पहिलोपटक “नेपाल खेलकुद महासंघ“ स्थापना भएको थियो । जुन अहिले राष्ट्रिय खेलकुद परिषद्का नामले परिचित छ । खेलकुद महासंघको स्थापनापछि मात्रै नेपालमा खेलकुद व्यवस्थित भएको । २०१६ मा पहिलो राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भयो, जसले फुटबल, भलिबल, एथलेटिक्सजस्ता खेललाई प्रोत्साहन ग¥यो ।
सन् १९५१ मा राणा शासनको अन्त्यपछि नेपालले अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन थालेर नेपालका खेलाडीले सिमाना नाघेर विदेशमा पनि खेल्ने अवसर पाए । सन् १९५१ मा भारतमा भएको पहिलो एसियाली खेलकुदमा नेपालले भाग लिएको थियो । १९६० को दशकमा फुटबल प्रतियोगिता नेपालमा अत्यन्त लोकप्रिय बन्यो । यसकै प्रभाव स्वरुप नेपालले सन् १९८४ मा दक्षिण एसियाली खेलकुद (साग) मा फुटबलतर्फ स्वर्ण पदक जितेको थियो ।
भलिबललाई नेपालको राष्ट्रिय खेलको रूपमा मान्यता दिइयो । मार्सल आट्र्स, बक्सिङ र एथलेटिक्समा पनि नेपालले क्षेत्रीयस्तरमा राम्रो प्रदर्शन गर्न थाल्यो । सन् १९८४ मा त नेपालले पहिलो साग खेलकुद नै आयोजना ग¥यो, जसले खेलकुद पूर्वाधार र अन्तर्राष्ट्रिय पहिचानलाई थप बलियो बनायो । १९९० को दशकदेखि क्रिकेट नेपालमा लोकप्रिय बन्दै गयो ।
सन् १९९६ मा नेपाल क्रिकेट सङ्घ (CAN) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) को सहायक सदस्यता प्राप्त ग¥यो । सन् २०१४ मा नेपालले पहिलो टी–२० विश्वकप खेल्यो र सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) मान्यता प्राप्त ग¥यो । सन् १९९९ को आठौँ सागमा नेपालले ३१ स्वर्णसहित दोस्रो स्थान हासिल ग¥यो ।
सन् २०१९ को १३ औँ सागमा पनि नेपालले ५१ स्वर्णसहित दोस्रो स्थान कायम राख्यो । प्याराग्लाइडिङ, पर्वतारोहण, राफ्टिङजस्ता साहसिक खेलहरूले नेपाललाई खेल पर्यटनको केन्द्र बनाउन सहयोग गरेको छ । पोखरामा आयोजित प्याराग्लाइडिङ विश्वकप यसको उदाहरण हो ।
खेलकुदमा महिला सहभागिता
पछिल्लो समय खेलकुदमा महिलाको सहभागिता लोभलाग्दो मात्रै छैन व्यावसायिक उन्मुख पनि हुँदै गएको छ । महिला क्रिकेट, भलिबल र मार्सल आट्र्समा बढ्दै गएको सहभागिताले महिलालाई खेलप्रति आकर्षितमात्र बनाएको छैन लैङ्गिक समानतामा समेत योगदान पु¥याएको छ ।
खेलकुदको माध्यमबाट नेपालको समृद्धि
खेलकुदको माध्यमबाट धेरै देशले समृद्धि हासिल गरिसकेका छन् । नेपालले खेलकुदलाई खाली औपचारिक प्रतियोगितामा मात्र सीमित नगरेर व्यवसायीकरणको बाटोमा जाने हो भने मुलुकका लागि आयआर्जनको राम्रो स्रोत हुन सक्छ । प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण नेपाल आर्थिक समृद्धिको खोजीमा छ ।
आर्थिक मन्दी, बेरोजगारी र सामाजिक असमानताले चुनौती थपिरहेको बेला खेलकुदलाई समृद्धिको एक शक्तिशाली माध्यमको रूपमा उपयोग गर्न सकिन्छ । खेलकुदले केबल शारीरिक र मानसिक स्वास्थ्यलाई प्रवद्र्धन गर्छ, जबकि आर्थिक वृद्धि, सामाजिक एकता र अन्तर्राष्ट्रिय पहिचानलाई पनि बलियो बनाउँछ ।
यस लेखमा खेलकुदमार्फत नेपालको समृद्धि कसरी हासिल गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्दैछौं । नेपालले खेलकुदलाई केबल मनोरञ्जन वा प्रतिस्पर्धाको रूपमा नभई आर्थिक समृद्धि हासिल गर्ने सशक्त माध्यमका रूपमा प्रयोग गर्न सक्दछ । खेलकुदले देशको पहिचान, पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पु¥याउन सक्छ । नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो ।
पर्वतीय साहसिक खेलहरू जस्तै हिमाल आरोहण, ट्रेकिङ, प्याराग्लाइडिङ र ¥याफ्टिङ विश्वभरि नै लोकप्रिय छन् । खेल पर्यटनलाई प्रवद्र्धन गरेर विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ, जसले होटल, यातायात, तथा अन्य सेवाहरूमा आर्थिक चाप सिर्जना गर्छ । खेल सामग्री उत्पादन तथा व्यवसायलाई प्रवद्र्धन गर्ने हो भने नयाँ उद्योगहरू स्थापना गर्न सकिन्छ । खेल सामग्री उत्पादन तथा स्थानीय खेलाडीलाई आवश्यक पर्ने उपकरण तथा पोशाक निर्माण गरेर आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।
खेलकुद क्षेत्रले प्रशिक्षक, व्यवस्थापक, खेल पत्रकारिता, खेल सामग्री उत्पादन, तथा खेल पर्यटनको क्षेत्रमा हजारौं रोजगारी सिर्जना गर्न सक्छ । सरकारी तथा निजी क्षेत्रको सहकार्यबाट खेल प्रशिक्षक तथा व्यवस्थापक उत्पादन गरी रोजगारीको अवसर बढाउन सकिन्छ । नेपालका खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्दा देशको पहिचानमात्र उचाल्दैनन्, आर्थिक लाभ पनि प्राप्त गर्न सक्छन् ।
खेल पुरस्कार, विज्ञापन तथा प्रायोजनबाट ठूलो अर्थोपार्जन गर्न सकिन्छ । स्वस्थ जनशक्ति कुनै मुलुकको प्रगतिका लागि अति आवश्यक हो । खेलकुदको प्रवद्र्धनले व्यक्तिको स्वास्थ्य सुधार गर्छ, जसले उत्पादनशीलता वृद्धि गरी आर्थिक योगदान दिन्छ । नेपालले खेलकुदलाई व्यवस्थित रूपमा प्रवद्र्धन गर्न सकेमा खेल पर्यटन, खेल उद्योग तथा अन्तर्राष्ट्रिय खेल प्रतिस्पर्धाबाट ठूलो आर्थिक लाभ गर्न सकिन्छ ।
यसका लागि सरकारी तथा निजी क्षेत्रको सहकार्य आवश्यक छ । दीर्घकालीन योजना, खेल पूर्वाधारको विकास तथा खेलाडीहरूको क्षमता अभिवृद्धिबाट नेपालले खेलकुदको माध्यममार्फत आर्थिक समृद्धि हासिल गर्न सक्छ ।
नेपालको सन्दर्भमा यस्ता सम्भावनाहरू अधिक छन् । तर हामीले सम्भावनाभित्र अवसर नै खोज्न सकेका छैनौं । हामीसँग क्रिकेटको प्रचुर सम्भावना छ । नेपालको क्रिकेट टोलीले अन्तर्राष्ट्रियस्तरमा प्रगति गरिरहेको छ । क्रिकेटलाई व्यावसायिक बनाएर प्रायोजन, प्रसारण अधिकार र पर्यटनमा लगानी आकर्षित गर्न सकिन्छ । त्यस्तै साहसिक खेल पर्यटनमार्फत नेपालको हिमाली भूभाग र प्राकृतिक सौन्दर्यले पर्वतारोहण, ¥याफ्टिङ, साइक्लिङजस्ता साहसिक खेलहरूलाई प्रवद्र्धन गर्न सक्छौं ।
यी खेलले पर्यटक आकर्षित गरेर आर्थिक लाभ लिन सकिन्छ । दक्षिण एसियाली खेलकुद (SAG) जस्ता क्षेत्रीय आयोजनाहरूलाई प्रभावकारी बनाएर पर्यटन र लगानी आकर्षित गर्न सकिन्छ । त्यस्तै हाम्रा स्थानीय र रैथाने खेलहरू ( बाघचाल, डण्डी बियो) लाई प्रवद्र्धन गरेर सांस्कृतिक पर्यटन बढाउन पनि सकिन्छ ।
तर यसका लागि हामीले केही रणनीति भने तयार पार्नै पर्छ । यसका लागि पहिलो सर्त नै पूर्वाधार विकास हो । स्टेडियम, प्रशिक्षण केन्द्र र यातायात सुविधामा लगानी नगरेसम्म खेल क्षेत्रबाट आम्दानी भएन भन्नु मूर्खता हुनेछ । खेलकुदमार्फत आर्थिक समृद्धि हासिल गर्न संयुक्त राज्य अमेरिका, दक्षिण अफ्रिका, बेलायत, मध्यपूर्वी देशहरू, जमैका र चीनले ठूला आयोजनाहरू, व्यावसायिक लिग खेलहरू र पर्यटनलाई उपयोग गरेका छन् ।
नेपालले पनि क्रिकेट, साहसिक र परम्परागत खेलहरूलाई रणनीतिक रूपमा उपयोग गरेर आर्थिक समृद्धि हासिल गर्न सक्छ । तर यसका लागि पूर्वाधार, लगानी र नीतिगत सुधार नै पहिलो शर्त हो ।
खेलाडीहरूलाई व्यवस्थित प्रशिक्षण, छात्रवृत्ति र आर्थिक सहायता प्रदान गर्न सकेमा नेपालले ओलम्पिक, एसियाली खेलकुद तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सक्छ । खेल क्षेत्रलाई व्यावसायिक बनाउँदै प्रशिक्षक, व्यवस्थापक, खेल पत्रकारिता, खेल पर्यटन, खेल सामग्री उत्पादनजस्ता क्षेत्रमा रोजगारीको अवसर बढाउन सकिन्छ ।
नेपालमा खेल सामग्री उत्पादनका लागि उद्योग स्थापना गरेर स्थानीय उत्पादनलाई विश्व बजारसम्म पु¥याउन सकिन्छ । सरकार तथा निजी क्षेत्रको सहकार्यमा खेल व्यवसाय प्रवद्र्धन गर्ने सम्भावना छ । खेलकुद नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण माध्यम बन्न सक्छ, तर त्यसका लागि लामो समयको योजना, खेल पूर्वाधारमा लगानी तथा खेल पर्यटन प्रवद्र्धन गर्न आवश्यक छ ।
यदि सरकार, निजी क्षेत्र तथा स्थानीय समुदायले मिलेर काम गर्ने हो भने नेपालले खेलकुदबाट ठूलो आर्थिक लाभ लिन सक्छ । खेलकुदले दीर्घकालीन रूपमा आर्थिक समृद्धि ल्याउन सक्छ, यदि यसलाई व्यवस्थित रूपमा प्रवद्र्धन गरियो भने ।
समृद्धिको आधार
खेल पर्यटन नेपालका लागि समृद्धिको बलियो आधार बन्न सक्छ । यसले होटल, यातायात र स्थानीय व्यवसायमा प्रत्यक्ष प्रभाव पार्छ । उदाहरणका लागि विश्वकप, ओलम्पिक वा साहसिक खेलहरूको प्रतियोगिता आयोजना गर्दा पर्यटकको आगमन बढ्छ ।
पर्यटक बढेसँगै देशको अर्थतन्त्रलाई दीर्घकालीन रूपमा बलियो बनाउँदै जानेछ । खेल प्रतियोगिता, टिकट बिक्री, विज्ञापन तथा टेलिभिजन अधिकारमार्फत सरकारी राजस्व बढ्न सक्छ । यस्तै, खेलकुद पर्यटनको प्रवद्र्धनले होटल, यातायात तथा खाद्य व्यवसायमा कर आम्दानी बढ्न सक्छ ।
खेलकुदलाई व्यवस्थित रूपले विकास गरेमा खेल पर्यटन, उद्योग, रोजगारी सिर्जना तथा सरकारी राजस्व वृद्धिबाट दीर्घकालीन आर्थिक फाइदा लिन सकिन्छ । यसको लागि अवसरहरूको पहिचान, लगानी तथा सरकारी नीति आवश्यक छ ।
खेलकुदका सम्भावना देखिरहँदा पूर्वाधारको कमीलाई पनि बिर्सिनु हुँदैन । १८३४३ दर्शक अट्ने दशरथ रंगशाला नै नेपालको सबैभन्दा ठूलो हो । पञ्चायतकालमा निर्मित यो रंगशाला अहिलेको अन्तर्राष्ट्रिय मापदण्डअनुसार पर्याप्त छैन । क्रिकेट, फुटबल र साहसिक खेलहरूले नेपालको पहिचान बनाउन थालेको सन्दर्भमा अब राज्यले छाती खोलेर पूर्वाधार निर्माणमा खर्चिनु पर्ने बेला आएको छ ।
पूर्वाधार, प्रशासनिक सुधार र समावेशी विकासमा अब पनि काम नगर्ने हो भने खेलबाट समृद्धि खोज्नु आकाशको फल जस्तै हुने छ । हालको बजेट र क्रिकेटको सफलताले भविष्यमा खेलकुदलाई आर्थिक र सामाजिक समृद्धिको आधार बनाउन सक्ने सम्भावनाभित्र राज्यले लगानी गर्नुपर्ने बेला आएको छ ।
त्यही भएर पनि हुनसक्छ सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा खेलकुद क्षेत्रका लागि ६ अर्ब ८ करोडभन्दा बढी विनियोजन गरेको छ । यो अघिल्लो वर्षको ३ अर्ब ५० करोड बजेटभन्दा २ अर्ब ५६ करोड बढी हो ।
धेरै मुलुकले खेलकुदलाई आर्थिक समृद्धिको माध्यम बनाए
अमेरिकामा खेलकुद उद्योगले ठूलो आर्थिक योगदान पु¥याएको छ । खेल पर्यटन, विज्ञापन तथा खेल सामग्री उत्पादनले अमेरिकाको अर्थतन्त्रलाई बलियो बनाएको छ.। प्रिमियर लिग फुटबलले बेलायतको अर्थतन्त्रमा त्यस्तै सहयोग गरेको छ । बेलायतले खेल पर्यटनकै माध्यमबाट बर्सेनि अर्बौं पाउन्ड आम्दानी गर्छ ।
चीनले ओलम्पिक खेलहरूमा लगानी गरेर खेलकुदलाई प्रवद्र्धन गरेको छ । खेल सामग्री उत्पादन तथा खेल पर्यटनको माध्यमबाट चीनले पनि आर्थिक वृद्धिका लागि खेल क्षेत्रबाट ठूलो लाभ लिएको छ ।
विश्वकप फुटबल आयोजना गरेर कतारले खेल पर्यटन तथा पूर्वाधार विकासमा ठूलो लगानी गरेको छ । विश्वकपको आयोजनापछि फुटबलले कतारकोे समृद्धिमा योगदान पु¥याएको छ । धेरै देशहरूले खेलकुदलाई आर्थिक समृद्धिको महत्वपूर्ण माध्यम बनाउन सके भने नेपालले किन सक्दैन ? अहिलेको प्रश्न हो यो ।
भारतमा क्रिकेटको इण्डियन प्रिमियर लिग (क्ष्एी) विश्वकै ठूलो फ्रेन्चाइज लिगमध्ये एक हो । यसले वार्षिक रूपमा अर्बाैं रुपैयाँ आम्दानी गर्छ । प्रो–कबड्डी लिग र इण्डियन सुपर लिगले पनि खेलकुद उद्योगलाई बलियो बनाएको छ ।
नेपालको खेलकुद अवस्था अहिले कस्तो छ ?
संस्कृति , परम्परा र शौख हुँदै व्यावसायिक बन्ने क्रममा रहेको नेपालको खेलकुदको अवस्थालाई विभिन्न कोणबाट हेर्दा झिनो प्रगति, ठूलो चूनौती हाम्रासामु विद्यमान छन् । खेलकुदमा यसपटक बजेट बढाइए पनि त्यो अझै पर्याप्त देखिँदैन । हुनत यसपटक बढेको बजेट इतिहासकै सर्वाधिक ठूलो हो ।
बजेट अभावकै कारण प्रशिक्षण केन्द्र र व्यायामशालाको कमीले खेलाडीहरूको लागि व्यावसायिक बन्ने अवसरमा बाधा पुगेको छ । हाम्रा परम्परागत खेलहरू जस्तैः डण्डी बियो, कबड्डीलाई प्रवद्र्धन गर्न सरकारी निकायले खासै महत्व दिएको देखिँदैन । खेलकुदको प्रवद्र्धन गर्न स्थापित राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदको विकास र व्यवस्थापन गरे पनि परिणाम प्रभावकारी हुन सकेको छैन ।
यद्यपि, सरकारले खेलकुद बीमा नीति, निजी क्षेत्रको लगानी र सामाजिक विकासलाई प्रोत्साहन गर्न खेलकुदलाई जोड दिने नीतिहरू ल्याउने बताएको छ । यस्ता नीतिहरूले खेलकुदलाई व्यावसायिक बनाउने अपेक्षा गरिएको छ । पछिल्लो समय नेपालले क्रिकेटमा गरेको प्रगतिले सरकारलाई पनि खेलकुदको विकासका लागि दबाब बढेको छ ।
पछिल्लो समय क्रिकेट नेपालको पनि सर्वाधिक लोकप्रिय खेल बन्दै गएको छ । नेपाल क्रिकेट संघ (क्यान) को नेतृत्वमा नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा लोभलाग्दो प्रगति गरेको छ । त्यही भएर पनि आगामी बजेटमा क्रिकेट पूर्वाधारका लागि सरकारले उल्लेखनीय रकम विनियोजन गरेको हो । जसले खेलको विकासमा थप टेवा पु¥याउने आशा गरिएको छ । त्यसो त फुटबलमा पनि नेपाल सरकारले राम्रै लगानी गरेको छ तर क्रिकेटले जति प्रगति गर्न सकेको छैन ।
विशेषगरी ग्रामीण भेगमा लोकप्रिय भलिबल नेपालको राष्ट्रिय खेल पनि हो । तर आफ्नै राष्ट्रिय खेलमा पनि हामीले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हासिल गर्न सकेका छैनौं । बजेटले पनि भलिबललाई कम प्राथमिकता दिएको गुनासा आएका छन् । ब्याडमिन्टन, टेबल टेनिस, तेक्वान्दो, स्केटबोर्डिङजस्ता खेलमा सामान्य प्रगति भइरहेको छ ।
नेपाली खेलकुदको अवस्था प्रगतितर्फ नै छ । विशेषगरी क्रिकेट र फुटबलमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान बन्दैछ । बजेट वृद्धि र पूर्वाधार विकासले सकारात्मक प्रभाव पारेको छ तर पूर्वाधारको कमी, व्यावसायिक अवसरको अभाव र परम्परागत खेलको संरक्षणमा ध्यान दिन नसक्दा सोचेको परिणाम प्राप्त हुन सकेको छैन ।
भलिबलजस्ता लोकप्रिय र हाम्रा रैथाने खेलहरूलाई थप प्रवद्र्धन गर्न सके मुलुकले खेलकुद क्षेत्रमा फड्को मार्न सक्ने सम्भावना अझै टरेको छैन ।
पूर्वाधारका प्रगति
खेल क्षेत्रका विकासका लागि अहिले केही महत्वपूर्ण पूर्वाधार निर्माणाधीन अवस्थामा छन् । नेपालगन्जमा सेन्थेटिक ट्रयाक, कीर्तिपुरमा फ्लडलाइट बन्दै छ । त्यस्तै सुर्खेत, चितवन, रुपन्देही, दाङ, इटहरी, विराटनगर, झापा, धनगढी, बैतडी, धरान, फिदिम, वीरगन्ज, सिमरालगायत स्थानमा खेलकुद मैदानहरू निर्माणाधीन छन् ।
यद्यपि, ग्रामीण क्षेत्रमा पूर्वाधारको अभाव र शहरी क्षेत्रमा पनि अपर्याप्त सुविधाका कारण खेलकुद विकासमा सोचेजति प्रगति गर्न सकिएको छैन ।
नेपालको मौसम र भौगोलिक अवस्थाले बाह्रै महिना खेलकुद आयोजना गर्न उपयुक्त वातावरण छ । यस्तो वातावरण विश्वमै थोरै देशमा मात्र मिल्न सक्छ । यस अर्थले पनि खेलकुद नेपालका लागि उत्तम स्थानका रुपमा चिनिन्छ ।
नेपाललाई अन्तर्राष्ट्रिय खेलक्षेत्रको भूमिको रूपमा विकास गरेर खेल पर्यटन प्रवद्र्धन गर्न सकिने बलियो सम्भावना छ । नेपालको भौगोलिक र प्राकृतिक उपहारलाई उपयोग गर्न सके यही माध्यमबाट समृद्धि प्राप्त हुनेमा दुईमत छैन ।
अब के गर्ने त ?
सबैभन्दा पहिले खेलकुद पूर्वाधारको विकासमा बजेट खर्चिने आधुनिक स्टेडियम र प्रशिक्षण केन्द्रका लागि तत्कालै कार्ययोजना अघि बढाउने । काठमाडौं, चितवन, पोखरा र अन्य क्षेत्रमा विश्वस्तरीय क्रिकेट रंगशाला, फुटबल मैदान र बहुउद्देश्यीय स्टेडियम अहिलेको आवश्यकता हो ।
बन्दै गरेको गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माणलाई तीव्रता दिएर चाँडोभन्दा चाँडो निर्माण सम्पन्न गर्ने । त्यस्तै गाउँ र सहरमा आधारभूत खेल मैदान, जिम र स्विमिङ पुलहरू निर्माण गर्न स्थानीय सरकारसँग सहकार्य गर्ने । सोलुखुम्बु, मुस्ताङजस्ता हिमाली क्षेत्रमा साहसिक खेल र प्रशिक्षण केन्द्र बनाएर खेल पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माणमा जुट्ने ।
पूर्वाधार निर्माणसँगै दीर्घकालीन खेलकुद नीति बनाई यसलाई शिक्षा र अर्थतन्त्रसँग जोड्नुपर्छ । राष्ट्रिय खेलकुद परिषद्लाई स्वायत्त र पारदर्शी बनाउँदै खेलकुदका गतिविधिमा व्यस्त राख्न सक्नुपर्छ ।
निजी क्षेत्रलाई आकर्षित गर्ने
खेलप्रति सर्वसाधारणको रुचि र भौतिक संरचनाको विकाससँगै नेपाली खेलकुदमा पनि निजी क्षेत्रको प्रवेश भएको छ । नेपाल सुपर लिग (एनएसएल) जस्ता प्रतियोगिताहरूमा निजी क्षेत्रको संलग्नता बढ्दै छ । निजी कम्पनीहरूलाई खेलकुद प्रायोजन र पूर्वाधार निर्माणमा प्रोत्साहन गर्न कर छुट दिएर बढीभन्दा बढी सहभागिताका लागि उत्प्रेरित गर्नुपर्ने देखिन्छ ।
खेलकुदमा पनि पीपीपी (पब्लिक पाइभेट पार्टनरशिप) मोडल लागू गर्न सकिए अवसर खोजेको निजी क्षेत्रलाई इन्गेज गराउन सकिन्छ ।
स्कुल, गाउँपालिका र जिल्लास्तरमा नियमित खेलकुद प्रतियोगिता आयोजना गरी प्रतिभावान खेलाडी बर्सेनि पहिचान गर्दै उनीहरूलाई खेलकुदको मूलधारमा ल्याउनुपर्ने छ ।
क्रिकेट, फुटबल, भलिबल, मार्सल आट्र्सजस्ताका लागि क्षेत्रीय एकेडेमीहरू स्थापना गर्नुपर्छ, जहाँ अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकले प्रशिक्षण दिन सकून् । खेलाडीलाई छात्रवृत्ति, तालिम र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर प्रदान गर्नुपर्छ ।
प्रकाशित मिति: १२ श्रावण २०८२, सोमबार







