उदयपुरमा कोरा साइकलिङ च्यालेन्ज



उदयपुर जिल्ला साइक्लिङ सङ्घको आयोजनामा गाईघाटमा तथा चौदण्डीगढी साइकल सिटीको आयोजनामा बेल्टार क्षेत्रमा कार्यक्रम सम्पन्न गरिएको हो। नेपालभर एकै दिन सञ्चालन गरिएको यस अभियानमा उदयपुरबाट सयौँ साइकलप्रेमी, युवा, विद्यार्थी, खेलकुदकर्मी तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उदयपुर। उदयपुरमा कोरा साइकलिङ च्यालेन्ज–२०२६ उत्साह, जोश र सामाजिक सन्देशका साथ भव्य रूपमा सम्पन्न भएको छ। गाईघाट र चौदण्डीगढी नगरपालिकाको बेल्टार क्षेत्रमा एकैसाथ आयोजित कार्यक्रमले साइकल संस्कृतिको प्रवर्द्धन, वातावरण संरक्षण, स्वस्थ जीवनशैली तथा बालबालिकाको उज्ज्वल भविष्यप्रति जनचेतना फैलाएको छ।

बेल्टारमा आयोजित कार्यक्रमको उद्घाटन चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा र चौदण्डीगढी साइकल सिटीका अध्यक्ष अनिल पौडेलले संयुक्त रूपमा गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले साइकल केवल खेलकुदको माध्यम मात्र नभई स्वस्थ जीवन, स्वच्छ वातावरण र दिगो विकासको अभियान भएको बताउनुभयो। यस्ता कार्यक्रमले युवापुस्तालाई स्वास्थ्यप्रति सचेत बनाउनुका साथै वातावरण संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने उहाँको भनाइ थियो।

चौदण्डीगढी साइकल सिटीका अध्यक्ष अनिल पौडेलले कोरा साइकलिङ च्यालेन्ज सामाजिक उत्तरदायित्वसँग जोडिएको अभियान भएको उल्लेख गर्नुभयो। उहाँले बालबालिकाको शिक्षा, स्वास्थ्य र उज्ज्वल भविष्यका लागि समाजलाई एकताबद्ध बनाउने उद्देश्यले हरेक वर्ष कोरा अभियान सञ्चालन हुँदै आएको बताउँदै उदयपुरमा यस अभियानप्रति नागरिकको उत्साहजनक साथ प्राप्त भएको जानकारी दिनुभयो।

गाईघाटमा आयोजित साइकल यात्रा सदरमुकाम गाईघाटबाट सुरु भई असारी, बहेडवा, झोडा, जोगीदह, मोथियाई, भुल्के र मोतिगडा हुँदै पुनः गाईघाट पुगेर सम्पन्न भएको थियो। त्यसैगरी चौदण्डीगढी साइकल सिटीअन्तर्गतको यात्रा बेल्टार बजारबाट सुरु भई बीपी चोक, माडिवास, पैतालिस चोक, शनिवारे, कुवाखोज, शिवाई, हडिया, शिवनगर र खैराझोडा हुँदै पुनः बेल्टार बजारमा पुगेर समापन गरिएको थियो।

यस वर्षको कोरा साइकलिङ च्यालेन्ज “Pedal for a Child, Ride for the Future” (बालबालिकाको भविष्यका लागि साइकल चलाऔँ) भन्ने नारासहित सञ्चालन गरिएको थियो। अभियानले बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र भविष्यप्रति समाजको दायित्वबोध गराउनुका साथै वातावरणमैत्री यातायातको प्रयोग बढाउन प्रेरित गर्ने उद्देश्य राखेको आयोजकहरूले बताएका छन्।

सहभागीहरूले साइकल यात्रा केवल गन्तव्यसम्म पुग्ने साधन नभई स्वस्थ शरीर, स्वच्छ वातावरण र सामाजिक उत्तरदायित्वको प्रतीक भएको धारणा व्यक्त गरेका थिए। उनीहरूले दैनिक जीवनमा साइकलको प्रयोग बढाएर कार्बन उत्सर्जन न्यूनीकरण, प्रदूषण नियन्त्रण तथा स्वस्थ समाज निर्माणमा सबैको सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए।

नेपालभर एकैसाथ आयोजना हुने कोरा साइकलिङ च्यालेन्जले हरेक वर्ष सामाजिक उत्तरदायित्व, परोपकारी भावना र समुदायमा सकारात्मक परिवर्तनका लागि जनचेतना अभिवृद्धि गर्दै आएको छ। उदयपुरमा सम्पन्न यस वर्षको कार्यक्रम पनि उल्लेखनीय सहभागिता, व्यवस्थित सञ्चालन र उत्साहपूर्ण वातावरणका कारण सफल र स्मरणीय बनेको आयोजकले जनाएको छ।

प्रकाशित मिति: २ श्रावण २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्