आज विश्व बाघ दिवस, नेपालमा कति पुग्यो बाघको संख्या ?
काठमाडौं, साउन १३ । आज विश्व बाघ दिवस मनाइँदै छ । हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ ।
सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तरराष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो ।
नेपालमा पनि दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् २०२२ मा गरिएको पछिल्लो राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको संख्या ३५५ पुगेको छ ।
नेपालमा बाघको संख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन् ।
सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।
उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको संख्या १२१ लाई बढाएर दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् ।
प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार










