प्रचण्डबाट पार्टी एकताको प्रस्ताव आएको छ, तर हामी तयार छैनौं : नेकपा एस



काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले माओवादी केन्द्रबाट पार्टी एकताको प्रस्ताव आएको बताएका छन् ।

पार्टी प्रवक्ता समेत रहेका उपाध्यक्ष ज्वालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट पछिल्लो समय उक्त प्रस्ताव आएपनि समाजवादी भने एकताका लागि तयार नरहेको बताए ।

उनले भने–‘माओवादीबाट एकता गरौं भन्ने प्रस्ताव आएको छ । तर हामीले ठोस रूपमा छलफल निष्कर्ष गरेका छैनौं ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलन र पार्टीहरुमा बढ्दो संकट रोक्न भन्दै नेकपा एकीकृत समाजवादी र माओवादीवादीबीच एकताको प्रस्ताव गरेका हुन् ।

आइतबार र सोमबार प्रचण्ड र माधव नेपालबीच भएका संवादमा प्रचण्डले यस्तो प्रस्ताव गरेको स्रोतको दावी छ । तर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने हतारमा पार्टी एकता गर्न तयार देखिएका छैनन् ।

सोमबार मात्र माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच लामो छलफल भएको थियो । त्यसको अघिल्लो दिन आइतबार पनि प्रचण्ड निवास खुमलटारमा प्रचण्ड र नेपालबीच संवाद भएको थियो ।

प्रचण्डले ‘अहिले तपाईं हामी सबैलाई क्राइसिस छ, हामी मिल्यौं भने यो क्राइसिसको सामना गर्न सहज हुन्छ’ भन्दै नेपाललाई फकाइरहेका छन् ।

तर, उपाध्यक्ष ज्वालाले दुई नेताबीच पार्टी एकताबारे औपचारिक रुपमा छलफल नभए पनि अनौपचारिक रुपमा कुराकानी हुनु स्वाभाविक रहेको बताए ।

उनले भने–‘औपचारिक रुपमा एकताका लागि छलफल भएको छैन । तर नेताहरुबीचको भेटवार्तामा पार्टीभित्रका समस्या र कम्युनिस्ट आन्दोलनका सवालमा कुरा हुनु स्वभाविक हो ।’

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्