तिब्बतको वर्षाले त्रिशूलीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता
काठमाडौं । तिब्बत क्षेत्रमा भएको भारी वर्षाले गर्दा त्रिशूली नदीमा ठूलो बाढी आएको छ ।
बाढीका कारण रसुवाको उत्तरगया आसपासका क्षेत्र, किस्पाङको त्रिशूली थ्रीबी हव लगायतमा जलसतह उच्च देखिएको छ ।
रसुवागढी क्षेत्रमा पानीको बहाव बढ्दै गएकाले सतर्कता अपनाउन भनिएको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले नेपाल र चीनको सीमा रसुवागढी क्षेत्रबाट ठूलो बाढी आएको भन्दै तल्लो तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीय बासिन्दा सचेत रहन भनेका छन्।
उनका अनुसार जिल्ला विपद् व्यवस्थापन समिति र उत्तरगया गाउँपालिका अन्तर्गतको स्थानीय विपद् व्यवस्थापन टोली परिचालित भइसकेको छ ।
गत असार २४ गतेको बाढीले रसुवागढीमा मितेरी पुल बगाउनुका साथै मानवीय र भौतिक क्षति गरेको थियो ।
प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार










