गुण्डा नाइके चक्रे मिलनसहित ४७ जना पक्राउ



काठमाडौँ । प्रहरीले गुण्डा नाइके चक्रे मिलनसहित ४७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले ठमेल र महाराजगन्ज क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । चक्रे मिलन महाराजगन्ज स्थित साम्बाला होटलबाट पक्राउ परेका हुन् ।

महाराजगन्ज र ठमेल क्षेत्रबाट अवैध काममा संलग्नहरूलाई नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङले बताए ।

प्रहरीले साउन १५ मा बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो । नर्सिङ चोक स्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनी पक्राउ परेका हुन् ।

रेष्टुरेण्ट र रात्रि क्लबमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो आएपछि गएराति गुण्डागर्दीविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेसन चलाएको जनाएको छ ।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्