निजामती कर्मचारी अस्पतालका ८ जनाविरुद्ध साढे दुई करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा



काठमाडौँ, २४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरका आठ जना कर्मचारीविरुद्ध दुई करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मुद्दा दायर गरिएकामध्ये फार्मेसी अधिकृत तथा फार्मेसी युनिट इन्चार्ज दीपा ढुङ्गाना, फार्मेसी सहायक लबेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दीपक सापकोटा, वरिष्ठ फार्मेसी सहायक विनोद पोखरेल र शर्मीला श्रेष्ठ, तथा फार्मेसी सहायक केशवराज न्यौपाने र सन्दीप तिवारी रहेका छन्।

अख्तियारका अनुसार अस्पतालको फार्मेसीमा रहेका म्याद सकिएका तथा म्याद सकिन लागेका औषधि सम्झौताअनुसार आपूर्तिकर्ता कम्पनीलाई फिर्ता गर्नुपर्नेमा त्यसो नगरी सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्‍याइएको आरोप उनीहरूमाथि लागेको छ।

आयोगले यस कार्यबाट राज्यलाई दुई करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ बराबरको क्षति पुगेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कैद र जरिवानाको मागसहित बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

प्रकाशित मिति: २४ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्