थुनामुक्त गर्न माग गर्दै रवि लामिछानेले दिए अदालतमा निवेदन



काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रिहाइको माग गर्दै अदालतमा निवेदन दिएका छन् ।

लामिछानेले यही साउन १९ गते रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका हुन् ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिई यही ऐनको दफा ७१ बमोजिम थुनामुक्त गर्न आदेश माग गरेका छन् । ६८ मा अभियुक्तसँग धरौटी वा बैंक जमानत लिएर रिहा गर्न सक्ने व्यवस्था छ भने दफा ७१ मा कारबाहीको जुनसुकै अवस्थामा पनि थुनामा वा जमानतमा राख्न सकिने भन्ने व्यवस्था छ ।

उनले सहकारी ठगीमा आफ्नो संलग्नता नरहे पनि तत्काललाई आफ्नो भागको बिगो बराबर जमानत लिएर रिहा गर्न माग गरेका छन् ।

लामिछानेको यो निवेदनमा मंगलबार र बुधबार पनि पेसी तोकिएको थियो। तर बुधबार भने लामिछानेकै कानुन व्यवसायीले निवेदन दिएर स्थगित गराएका छन् ।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्