गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त



काठमाडौँ, २४ असार । सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिवमा नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवका रूपमा कार्यरत हुनुहुन्थ्यो।

बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी कैलालीस्थित गेटा अस्पताललाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ।

मन्त्रिपरिषद्ले ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन तथा नियमन नियमावली, २०८३’, ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ र ‘कारागार नियमावली, २०८३’ लाई पनि स्वीकृति दिएको छ।

यसका साथै बैठकले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना र भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना समेत स्वीकृत गरेको सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो।

प्रकाशित मिति: २४ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्