नागरिक एपमा अत्याधुनिक परिचय प्रमाणीकरण प्रणाली, पेन्सनरलाई घरबाटै सेवा
काठमाडौँ, असार २४ गते । प्रिक्सा कम्पनीअन्तर्गतको थर्ड फ्याक्टर एआईले विकास गरेको अत्याधुनिक परिचय प्रमाणीकरण (आइडेन्टिटी भेरिफिकेसन) प्रविधि अब सरकारको नागरिक एपमा एकीकृत गरिएको छ। यससँगै सरकारी सेवा थप सहज, सुरक्षित र प्रविधिमैत्री बनेको छ।
यसअघि पेन्सन व्यवस्थापन कार्यालयमा मात्र प्रयोग भइरहेको यो प्रणाली अब नागरिक एपमार्फत उपलब्ध भएपछि लाखौँ नागरिकले यसको लाभ लिन सक्ने भएका छन्।
यो प्रविधि सुरुमा पेन्सनरको डिजिटल प्रमाणीकरणका लागि विकास गरिएको थियो। विगतमा पेन्सन बुझ्न प्रत्येक छ महिनामा बैंकमा स्वयं उपस्थित भएर आफू जीवित रहेको प्रमाणित गर्नुपर्ने व्यवस्था थियो। तर, नयाँ प्रणाली लागू भएपछि तीन लाखभन्दा बढी पेन्सनरले बैंक धाउनुपर्ने बाध्यता हटेको छ। उनीहरूले अहिले घरबाटै सुरक्षित रूपमा आफ्नो परिचय प्रमाणीकरण गरिरहेका छन्।
अब पेन्सनरले राष्ट्रिय परिचयपत्रमा रहेको विवरणसँग आफ्नो अनुहार मिलाएर केही सेकेन्डमै घरबाटै परिचय प्रमाणीकरण गर्न सक्नेछन्। प्रणालीले पहिलो चरणमा सरकारी अभिलेखमा रहेको तस्बिरसँग अनुहार मिलान गर्छ भने दोस्रो चरणमा राष्ट्रिय परिचयपत्रका विवरणको स्वचालित प्रमाणीकरण गर्छ। दुवै प्रक्रिया सफल भएपछि मात्र पेन्सन प्रमाणीकरण पूरा हुन्छ।
यस प्रविधिले ज्येष्ठ नागरिकलाई बैंकसम्म पुग्नुपर्ने झन्झट र लामो समय लाइनमा बस्नुपर्ने समस्याबाट राहत दिएको छ।
नागरिक एपमार्फत यस्तो प्रविधि पहिलो पटक राष्ट्रिय स्तरमा उपलब्ध गराइएको हो। यसले डिजिटल सार्वजनिक सेवाको विस्तारलाई गति दिनुका साथै सरकारी सेवामा नागरिकको पहुँच अझ सहज बनाउने अपेक्षा गरिएको छ।
प्रविधि विकासकर्ता थर्ड फ्याक्टर एआईले सरकार, वित्तीय संस्था तथा निजी क्षेत्रका लागि परिचय प्रमाणीकरण, अनुहार पहिचान, लाइभनेस डिटेक्सन, डकुमेन्ट इन्टेलिजेन्स तथा डिजिटल अनबोर्डिङजस्ता समाधान विकास गर्दै आएको छ। कम्पनीले “ट्रस्ट योर कस्टमर” अवधारणाअनुसार प्रयोगकर्ताको सम्पूर्ण डिजिटल यात्रालाई सुरक्षित र विश्वासयोग्य बनाउने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार










