सभामुखद्वारा सङ्घीय निजामती सेवा विधेयक प्रतिवेदन कार्यान्वयनबारे छलफल



काठमाडौँ २६ साउन। सभामुख देवराज घिमिरेले आज सङ्घीय निजामती सेवा विधेयक, २०८० मा भएको त्रुटिका सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा छलफल गर्नुभएको छ ।  

उहाँले सत्तारुढ एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयसँग अलग अलग छलफल गर्नुभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।  

कतिपय महत्त्वपूर्ण विधेयक समितिमा विचाराधीन रहेको बताउँदै उहाँले समितिको प्रतिवेदन कार्यान्वयन गरी राज्यव्यवस्था तथा सुशासन समितिको कामलाई गति दिनुपर्ने भएकाले त्यस विषयमा दलहरूलाई साझा धारणा बनाउन आग्रह गर्नुभयो । 

राज्यव्यवस्था समितिको कामलाई प्रभावकारी बनाउन नयाँ सचिवको रूपमा सहसचिव कान्छा दुलाललाई जिम्मेवारी दिएको जानकारी दिँदै समितिको काम अब धेरै समय रोक्न नसकिने उल्लेख गर्नुभयो । नेताहरूले प्रमुख दलहरूको सुझावका आधारमा निर्णय गर्न सभामुखलाई सुझाव दिनुभएको छ ।

सभामुखले गत शुक्रवार सचिवालयका कानुन सहसचिव लक्ष्मीप्रसाद गौतम र कार्यव्यवस्था महाशाखा प्रमुख सहसचिव एकराम गिरीसँग विशेष समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा परामर्श गर्नुभएको थियो ।

सभामुखले मङ्गलवार पनि अलग अलग सुझाव लिएर संयुक्त बैठक गर्ने तयारी गर्नुभएको छ ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्