बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज (मंगलबारं) बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिँदैछन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकारको नेतृत्व गरेका बानियाँले आज नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभा बैठक आज दिउँसो ४ बजे बस्दैछ ।
साउन २० मा कांग्रेस–एमालेका ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँलाई सरकार जोगाउन ११० सदस्यीय बागमती प्रदेशसभामा कम्तीमा ५६ सांसदको समर्थन आवश्यक हुन्छ ।
यसअघि मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन कांग्रेससहित साझेदार दल एमालेले पनि ह्वीप जारी गरिसकेको छ ।
प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका २१, राप्रपाका १३ (सभामुख सहित), एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार










