हैजा नियन्त्रणको लागि सबै संयन्त्र परिचािलितः मन्त्री चौरसीया
वीरगंज १२ भदाै। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसीयाले संघीय सरकारद्वारा वीरगंजमा देखिएको हैजा संक्रमण नियन्त्रणका लागि प्रदेश र स्थानीय सरकार सँग समन्वय गरी सबै संयन्त्र परिचालन गरिएको बताउनुभएको छ ।
उहाँले वीरगंजमा हैजा संक्रमण फैलिएसँगै नियन्त्रणमा लिन तिन तहकै सरकार र सरोकारवाला निकायले जिम्मेवारीका साथ काम गरिरहेको र केही दिनभित्रै वीरगंज हैजा मुक्त हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
कानुन मन्त्री चौरसीयाले आज अपराह्न वीरगंजको नारायणी अस्पताल सहित गण्डक अस्पताल, बीरगंज हेल्थ केयर, तराई अस्पताल लगायतका अस्पतालहरूमा पुगेर हैजाका बिरामीहरूको स्वास्थ्य अबस्थाका बारेमा जानकारी लिनुको साथै चिकित्सकहरूसँग उपचारमा उत्पन्न समस्याका बारेमा समेत परामर्श गर्नुभएको थियो ।
मन्त्री चौरसीयाले सुख्खा र खडेरी सँगै खानेपानीको अभाव झेलिरहेको वीरगंजमा फेरी विपत्तिको रुपमा हैजाले प्रभावित पारेको बताउँदै स्वच्छ पिउने पानी, सरसफाईमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।
यसैबिच बिगत एक सातादेखि वीरगञ्जमा समुदाय स्तरमा फैलिएको झाडापखाला र हैजाको प्रकोप नियन्त्रणमा लिन प्रयास तिनै तहका सरकार सँगै सम्बद्ध निकायले तीव्र रुपमा चलाएका छन् ।

जिल्ला जनस्वास्थ्य संकट व्यवस्थापन समितिले आज साँझ जारी गरेको विज्ञप्ति अनुसार २ सय ६० जना झाडा पखाला तथा हैजाबाट संक्रमित बिरामी उपचार पछि निको भएर घर फर्किएका छन् ।
गत शुक्रवारदेखि आज साँझ सम्म ५ सय ८३ जना बिरामी अस्पताल भर्ना भएका छन् । भर्ना भएकामध्ये ३ सय २२ जना अझै उपचाररत छन् ।
तीमध्ये १ सय ४१ जनालाई हैजाको संक्रमण देखिएको छ ।हैजाको संक्रमण देखिएका ५७ जना उपचार पछि निको भई अस्पतालबाट घर फर्किएका छन् भने ८४ जना हैजा सङ्क्रमितको अझै अस्पतालहरूमा उपचार भइरहेको छ ।
वीरगंजको नारायणी अस्पताल सहित १५ वटा अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामी मध्ये ४५ जनाको अवस्था गम्भीर रहेको छ । जसमध्ये ३८ जनाको आइसियुमा र ७ जनाको एचडियु कक्षमा उपचार भइरहेको छ भने २ सय ७७ जनाको जनरल वार्डमा उपचार भइरहेको जिल्ला जनस्वास्थ्य संकट व्यवस्थापन समितिले आज साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: १२ भदौ २०८२, बिहिबार
















