‘छक्का पञ्जा’लाई वर्षकै उत्कृष्ट सिनेमा अवार्ड


 


काठमाडौं, चैत्र १४

डिजिटल सिनेमा नेपाल (डिसिएन) ले यो वर्षको उत्कृष्ट सिनेमा अवार्डद्वारा छक्का पञ्जालाई सम्मानित गरेको छ । नेपाली सिनेमाको इतिहासमा पहिलो पटक मल्टिप्लेक्समा सय दिन मनाउँदै १७ करोड रुपैयाँ भन्दा धेरै ग्रश कलेक्शन गरेको भन्दै उक्त अवार्ड दिइएको डिसिएनले जनाएको छ ।

शुक्रबार पोखरामा आयोजित डिजिटल सिनेमा नेपालको दशौँ वार्षिक उत्सवमा ‘छक्का पञ्जा’लाई उत्कृष्ट  सिनेमाको अवार्ड प्रदान गरिएको हो । उक्त कार्यक्रममा  सिनेमाकी निर्देशक दीपाश्री निरौला र अभिनेता दीपकराज गिरीले सहभागिता जनाएका थिए । निर्देशक दीपाश्री निरौलाले एक तस्विर सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गर्दै फ्यानहरुसँग अवार्ड पाउँदाको खुसी बाँडेकी छिन् ।

दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, नम्रता सापकोटा, शिवहरी पौड्याल, वर्षा राउत, केदार घिमिरेलगायतको मुख्य भूमिका रहेको सिनेमा ‘छक्का पञ्जा’को सफलतापछि पूरानै टिम अब ‘छक्का पञ्जा–२’ को तयारीमा लागेको छ ।

हाल सिनेमाको स्क्रिप्टमा काम भइरहेको  छ भने सिनेमा बैशाख १४ देखि फ्लोरमा जानेछ । त्यस्तै सिनेमाले प्रदर्शन मिति पनि तय गरिसकेको छ । २०७४ को असोज ११ मा ‘छक्का पञ्जा’को सिक्वेल देशभर प्रदर्शन हुनेछ ।

प्रकाशित मिति: १४ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्