शान्ति सुरक्षाको प्रत्याभूति गराउन गृहमन्त्रीसँग महासङ्घको माग



काठमाडौँ २ असाेज। नेपाल उद्योग वाणिज्य महासङ्घले उद्योग व्यवसायमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेको छ ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले आज गृहमन्त्री ओमप्रकाश अर्यालसँग गृह मन्त्रालयमा भेट गरी मर्यादित रुपमा व्यवसायका लागि शान्ति सुरक्षा जरुरी रहेको बताएको हो । उहाँले शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारलाई तत्काल ठोस कदम चाल्न आग्रह गर्नुभएको थियो ।

निजी क्षेत्रले जिल्ला जिल्लामा सुरक्षाको अनुभूति गर्न नसकिरहेकोमा सरकारले सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभयो । साथै कतिपय उद्यमी व्यवसायी प्रहरीका संरचना पुनः निर्माणका लागि तयार रहेको बताउनुहुँदै अध्यक्ष ढकालले यसका लागि उद्योग वाणिज्य सङ्घमार्फत सहकार्यका लागि प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

आन्दोलनका क्रममा भएको घुसपैठबाट निजी क्षेत्रको सम्पत्तिमाथि भएको आक्रमण, तोडफोड र आगजनीमा संलग्नमाथि कारबाही गर्न मन्त्री अर्यालसमक्ष आग्रह गर्नुभयो । 

गृहमन्त्री अर्यालले आम नागरिक तथा व्यवसायीको शान्ति सुरक्षाका विषयमा सरकार संवेदनशील रहेको बताउनुभएको महासङ्घले जनाएको छ । 

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्