काठमाडौँसहित विभिन्न स्थानमा सवारी दुर्घटना, चार जनाको मृत्यु



काठमाडौँ। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनाहरूमा परी चार जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-३२, जडीबुटीस्थित सडकमा कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको बा.प्र.०१-००४ क ५३६२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सिन्धुली गोलन्जोर गाउँपालिका-५ घर भएका ३७ वर्षीय दिनेश थापाको गए राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, मोरङको ग्रामथान गाउँपालिका-७ स्थित सडकमा विराटचोकबाट विराटनगरतर्फ जाँदै गरेको प्र.१-०२-०४४ प ५६५४ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीया सरिता सरदारको आइतबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको भने आर्या न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ।

उता, कपिलवस्तुको शिवराज नगरपालिका-५, खैरीस्थित सडकमा लु.५६ प ८५८७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-२, बालापुर बस्ने २२ वर्षीय सुशिल सुनारको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

धनकुटा नगरपालिका-९, पाँचगोलाईस्थित सडकमा धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्र-३-०१-००३ क ६९०६ नम्बरको मिनी ट्रक अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर गए राति दुर्घटना हुँदा ट्रकका सहचालक उदयपुर रानीटार घर भएका १८ वर्षीय दिनेश क्षेत्रीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ट्रक चालकको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।

सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्