आगामी तीन दिन पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौँ, १७ असार । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका हिमाली तथा पहाडी भूभागका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार आज राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
भोलि बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने पर्सी शुक्रबार हिमाली र पहाडी भूभागमा सामान्य बदली तथा तराईका अधिकांश स्थानमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
भोलि र पर्सी हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भोलि दिउँसो लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
पर्सी शुक्रबार पनि देशका हिमाली, पहाडी तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।
प्रकाशित मिति: १७ असार २०८३, बुधबार












