कम्युनिस्ट एकताअघि सहकार्य आवश्यक : प्रचण्ड



पोखरा, १७ असार । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट पार्टीहरूबीच तत्काल एकता गर्नुभन्दा पहिले सहकार्य आवश्यक रहेको बताएका छन्।

नेकपा गण्डकी प्रदेश समितिले बुधबार पोखरामा आयोजना गरेको प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकार्यका क्रममा विचार, नीति र कार्यशैलीमा समानता देखिएपछि मात्रै न्यूनतम आधारमा पार्टी एकीकरण सम्भव हुने बताए।

प्रचण्डले विगतमा एमाले र नेपाली कांग्रेससँग पनि राष्ट्रिय आवश्यकताअनुसार सहकार्य गरिएको स्मरण गराउँदै भविष्यमा पनि राजनीतिक सहकार्य हुन सक्ने उल्लेख गरे।

उनले देशले गम्भीर चुनौतीको सामना गरिरहेको दाबी गर्दै सुकुम्बासी, विद्यार्थी, ट्रेड युनियन, सीमा र मधेसका मुद्दामा जनभावनाविपरीत काम भइरहेको बताए। जनताको वर्गीय अधिकार र राष्ट्रिय स्वाभिमानमाथि प्रहार भइरहेको उल्लेख गर्दै उनले फेरि एकपटक राजनीतिक क्रमभङ्ग आवश्यक रहेको धारणा राखे।

कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलन छाडेर अन्यत्र गएका नेताहरूको राजनीतिक अवस्था “यता न उता” भएको टिप्पणी गरे। उनले कम्युनिस्ट शक्तिहरूबीच वैचारिक स्पष्टता, सङ्गठनात्मक एकता र जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा गण्डकी प्रदेशका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको नेकपाले जनाएको छ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्