पर्यटकबाट चुमनुब्रीले उठायो तीन महिनामा ४५ लाख राजश्व
गोरखा ७ कात्तिक । स्थानीय शासन सञ्चालन ऐन २०७४ लाई आधार मानेर गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकाले आफ्नो पालिका भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकबाट शुल्क लिन थालेपछि साउन यता पालिकाले ४५ लाख १० हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
जगत स्थित पर्यटक सूचना केन्द्रमा रहेका पालिका कर्मचारी विशाल घलेका अनुसार आज सम्मको तथ्याङ्कमा जगतबाट चार हजार चार सय विदेशी पर्यटक र पाँच सय पचास नेपालीहरूले पर्यटक शुल्क तिरेर मनास्लु क्षेत्रको यात्रा गरेका छन् ।
हेलिकप्टरमा जाने र स्थानीय नेपालीहरूको तथ्याङ्क भने नरहेको घलेको भनाई छ । यो वर्ष मनास्लु क्षेत्रमा धेरै पर्यटकहरू आएको घलेको भनाई छ ।
सङ्कलित रकम पर्यटन क्षेत्रमा गर्नुपर्ने कामका लागि खर्च गर्ने पालिकाको योजना रहेको गाउँपालिका अध्यक्ष निमा लामाको भनाई छ ।
पालिकाले अघिल्लो वर्ष फागुनबाट पर्यटकसँग शुल्क लिने थालेको हो । सुरुको वर्षमा पालिकाले ५० लाख रुपैयाँ सङ्कलन गरेको जनाएको छ ।
प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार
















