अशोक मुकारुङको सानु हप्ताकै टप दुर्इमा


 


काठमाडौँ, चैत्र २७

करिब दुई साताअघि मात्रै आफ्नो चौथो गीति एल्बम ‘झुल्केको घाम’ सार्वजनिक गरेका गायक अशोक मुकारुङ भाग्यमानी गायक सावित भएका छन् ।

उनको ‘झुम्के फुली लाएर कता हो नि सानु’ बोलको गीतको म्युजिक भिडियो युट्युबमा अत्यधिक हेरिएको भिडियो मध्ये दुई नम्बर सूचीमा परेपछि उनी भाग्यमानी गायक ठहरिएका हुन् ।

स्व. गायक तथा सङ्गीतकार खेमराज गुरुङको रचना तथा सङ्गीतमा सजिएको लोकशैलीको उक्त गीतको म्युजिक भिडियो साताभरि अत्यधिक रुचाइएको सूचीमा परेको हो ।

एलिसा राई र निराजन प्रधानद्वारा अभिनित तथा राजेश राईद्वारा निर्देशित सो म्युजिक भिडियोले अशोकलाई साङ्गीतिक सफलता दिलाइरहेको देखिन्छ ।

उक्त भिडियो युट्युबमा सङ्ग्स् नेपालले प्रकाशित गरेको हो । पहिलो नम्बरमा भने साहिल खड्काको ‘यो के माया हो ?’ पर्न सफल भएको छ ।

स्कुले जीवनदेखि नै गीत गायनमा लागेका अशोकले जागिरे जीवनमा रहँदा पनि आफ्नो साङ्गीतिक यात्रालाई निरन्तरता दिइरहेका थिए । यसअघि उनले तीन वटा गीति एल्बम ल्याइसकेका छन् ।

सेवा इन्टरटेन्टमेन्टले बजारमा ल्याएको एल्बम ‘झुल्केको घाम’मा ‘झुल्केको घाम’, ‘झुम्के फुली लाएर कता हो नि सानु…’, ‘पानी त चिसो’, ‘तिमीबाट’, ‘धरानैकी सोल्टिनी’, ‘पिरती भाका’, र ‘पिखुवा खोला’ समेत सात गीत समेटिएका छन् ।

गंगाराज मुकारुङ, गौरव गुरुङ, वसन्त थाम्सुहाङ र तुलसी बस्नेतका शब्दका साथै वसन्त मुकारुङ, खेमराज गुरुङ, सन्तोष श्रेष्ठ र सुमन राईको सङ्गीत रहेको छ ।

प्रकाशित मिति: २७ चैत्र २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्